‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले लिए निःशुल्क यातायात सेवा

Halesi Khabar
350 Shares

खोटाङ, २० कातिक । जिल्लाका एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले निःशुल्क यातायात सेवा लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात अभियान सञ्चालन गरेका हुन् ।

दोस्रो चरणमा सञ्चालन गरिएको अभियान अन्तरगत कात्तिक–१६ गते १७ जना युवाले ७४ जना, कात्तिक–१७ गते १५ जना युवाले ५७ जना, कात्तिक–१८ गते दश जना युवाले ४९ जना तथा कात्तिक–१९ गते ३४ जना युवाले १०९ जना चेलीलाई निःशुल्क मोटरसाइकल सेवा दिएका छन् । कात्तिक–१९ गते शुभम् फाउण्डेशनको चार पाङ्ग्रे दुईवटा बोलेरोमार्फत समेत ५६ जना चेलीलाई निःशुल्क सेवा उपलब्ध गराइएको हो ।

यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित अभियान सञ्चालन गरिएको संयोजक सञ्जयकुमार राईले बताउनुभयो । “दसैँमा चार दिन अभियान सञ्चालन ग¥यौँ । उसबेला ७० जना चेलीले सेवा लिएका थिए । ‘दसैँतिहार, चेलीलाई उपहार’ नाम दिएर शुरु गरिएको अभियानमा जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत युवा निस्वार्थरुपमा जोडिएका थियौँ”, उहाँले भन्नुभयो, “नेपालीहरुको दोस्रो ठूलो तथा महत्वपूर्ण चाड तिहारमा मात्रै ३४५ जना चेलीलाई सेवा उपलब्ध गरायौँ । पहिलो पटक सञ्चालन गरिएको अभियान सफल भएकामा हामी उत्साहित भएका छौँ ।”

मध्यपहाडी लोकमार्गका सडकखण्ड तथा जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालित ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा दिइएको युवा समूहले जनाएको छ । सरकारी सेवासुविधा लिइरहेकाहरुलाई भने आफूहरुले सञ्चालन गरेको अभियानअन्तरगतका सेवा उपलब्ध नगराइएको समूहका सदस्य मोतिचन्द्र राईले जानकारी दिनुभयो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष एवम् कराँते खेलाडी राईको संयोजकत्वमा शुरु गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा स्वतःस्फूर्त सहभागी भएका थिए । आफूहरुले कुनै स्वार्थ नराखी मानवीय सेवाभावले माइतीघर पु¥याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउन अभियान सञ्चालन गरिएको युवा समूहले जनाएको छ ।

दसैँलाई लक्षित गरेर दश युवाले शुरु गरेको पहिलो चरणको अभियानलाई निरन्तरता दिँदै दोस्रो चरण अर्थात् तिहारमा समेत निःशुल्क यातायात सेवा उपलब्ध गराएपछि जिल्ला तथा बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले युवा समूहको प्रशंसा गरिरहेका छन् । अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई दिक्तेल बजारको रत्नपार्कमा सञ्चालित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउण्डेशन खोटाङका प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले बताउनुभयो ।

चाडपर्वको समयमा चेलीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानका क्रममा करिब ५०० लिटर पेट्रोल खपत भएको संयोजक राईले जानकारी दिनुभएको छ । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया