खोटाङ, २२ कात्तिक । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर गएराति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयबासी एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव लक्ष्मण साम्पाङ ‘समिप’ले जानकारी दिनुभएको छ । “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर, आफूले प्रहार गरेको गोली मृगलाई नभइ जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।”
फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् । घटना लगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको समिपले जानकारी दिनुभएको छ ।
घटनाको बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आज (बिहीबार) घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ ।
फेदीमा भएको घटनाको बारेमा एक जना स्थानीयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रतिक विष्टले जानकारी दिनुभयो । घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा अत्यधिक मात्रामा चोरी सिकार चलन रहेको स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् । जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिज लगायतका जङ्गली जनावर तथा पन्छी सिकार गर्दै आएका छन् ।
सिकारीहरुले लोपोन्मुख जनावरहरु रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयबासीले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानूनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तुहरु जिल्लामा हराउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
कतिपय ठाउँका स्थानीयबासीले प्रहरीकै संलग्नतामा चोरी सिकार गर्ने गरेको समाचार स्रोतको दाबी छ । लोपोन्मुख जीवजन्तुको सिकार गर्नेक्रम बढेको विषयमा सार्वजनिक समारोहरुले कुरासमेत उठ्ने गरेको छ ।