भान्छाकोठाबाट सल्किएको आगोले घर र मतान जल्दा ११ लाख बढीको क्षति

Halesi Khabar
77 Shares

खोटाङ, २४ कात्तिक । रावाबेँसी गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज (शनिबार) दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउनेक्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको एउटा घर, एउटा मतान, घरभित्र भएका रु दश हजार नगद, दुई तोला सुन, लत्ताकपडा, भाडाकँुडा, कागजपत्र, अन्नपात लगायत जलेर नष्ट भएको हो ।

नेपाल प्रहरीका पूर्व हवल्दारसमेत रहनुभएका गुरुङको दुईवटा घरमध्ये फुसको छाना भएको तीनतले एउटा घर र फुसकै छाना भएको तीनतले नै एउटा मतान आगलागीमा जलेर नष्ट भएको जनाइएको छ । दिउँसो करिब साढे तीन बजे शुरु भएको आगो स्थानीयबासी र प्रहरीको टोलीले साँझ साढे सात बजेमात्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।

फुसको छाना तथा ढुङ्गामाटो र काठ प्रयोग गरेर निर्माण गरिएको घरमा आगलागी भएका कारण निभाउन धेरै समय लागेको आगलागी नियन्त्रणमा सहभागीले स्थानीयले बताएका छन् । दिउँसोको समयमा आगलागीका घटना भएकाले मानव र पशुचौपायालाई भने, सुरक्षित गर्न सकिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट भएपछि गुरुङ परिवार चिन्तित बनेका छन् । आगलागी पीडित गुरुङ परिवार अहिले आफ्नै अर्को जस्तापाताको छाना भएको घरमा बसिरहेको प्रहरीचौकी डुम्रेधारापानीका हवल्दार ओमकुमार राउतले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया