श्री मावि बाँसबोटे लफ्याङको ६४ वार्षिकोत्सव : विविध कार्यक्रमको आयोजना

Halesi Khabar
63 Shares

खोटाङ, २६ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङको ६४ औँ वार्षिकोत्सव शुरु भएको छ । चार दिनसम्म मनाइने वार्षिकोत्सवको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको हो ।

तामझामका साथ उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन अक्षयकोष स्थापनाका साथै नगरपालिकास्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिताको प्रारम्भ गरिएको छ । भोलि (कात्तिक–२७ गते) भलिबल खेल तथा सेवा क्षेत्रभित्र सञ्चालित आधारभूत तहका विद्यार्थीहरुबीच नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।

कार्यक्रमको तेस्रो दिन (कात्तिक–२८ गते) भलिबल खेल, निःशुल्क रक्त समूह पहिचान, शिक्षक, अभिभावक र राजनीतिक दलबीच भलिबल प्रतियोगिता तथा महिला शिक्षकका लागि सिटी बमब्लाष्ट प्रतियोगिता राखिएको प्रधानाध्यापक पूर्णकुमार राईले जानकारी दिनुभयो । कार्यक्रमको अन्तिम दिन (कात्तिक–२९ गते) अन्तर माविस्तरीय लोक नृत्य प्रतियोगिता, भलिबल खेलको फाइनल, एनसिसि विशेष प्रस्तुति, पुरस्कार वितरण तथा समापन गरिने जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईको विशेष आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका वक्ताहरुले शैक्षिक गुणस्तर सुधारमा श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङले फड्को मारेको बताएका छन् ।

यसैबीच, वडा नं. ५ लफ्याङले विद्यालयको वार्षिकोत्सवको अवसर पारेर त्यहाँ अध्ययनरत बाल विकास केन्द्रदेखि कक्षा–१२ सम्मका ३६१ जना छात्रछात्रालाई ट्र्याकसुट वितरण गरेको छ । वडा कार्यालयले विनियोजन गरेको रु छ लाख बजेटबाट खरिद गरिएको ट्र्याकसुट वडामा सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत वितरण गरिएको वडाध्यक्ष एवम् नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया