दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एउटै विद्यालयमा १२ वटा अक्षयकोष

Halesi Khabar
70 Shares

खोटाङ, २६ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा–१२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको श्री मावि लफ्याङको ६४ औँ वार्षिकोत्सवमा ‘किरात चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशीको अक्षयकोष स्थापना गरेसँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो ।

पहिलो चरणमा रु ५१ हजार रकम जम्मा गरेर स्थापना गरिएको अक्षयकोषलाई वर्षेनी बढाउँदै लैजाने योजना रहेको अक्षयाकोषका संरक्षक एवम् जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । अक्षयाकोषबाट आएको ब्याजले हरेक वर्ष सर्वोत्कृष्ट अङ्क ल्याएर कक्षा–१२ उत्तिर्ण गर्ने एकजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रतोत्साहनस्वरुप पुरस्कृत गरिने जनाइएको छ ।

अक्षयकोषका लागि चन्दाहँछा परिवाले उपलब्ध गराएको नगद रकम वार्षिकोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ । आफ्नो गाउँमा सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिबङ्गत आफन्तको स्मृति तथा वङ्श नाम राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको अभिभावकहरुले बताएका छन् ।

वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयमा यसअघि एकै वर्ष चारवटा अक्षयकोष स्थापना भएको थियो । वि.सं. २०६८ सालमा रु एक लाख ११ हजार ११ राशीको स्वः मनमाया राई स्मृति अक्षयकोष, रु ७८ हजार ३१३ राशीको भूतपूर्व विद्यार्थी अक्षयकोष, रु ५५ हजार राशीको सेरालुङहँछा अक्षयकोष र रु ५१ हजार राशीको स्व. दैवप्रसाद–तुलसा स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

यस्तै, वि.सं. २०७२ सालमा रु एक लाख राशीको स्व. चिमा राई स्मृति क्षयकोष, वि.सं. २०७५ सालमा रु ५५ हजार ५५५ राशीको स्व. विद्याकुमारी कार्की स्मृति अक्षयकोष, वि.सं. २०७५ सालमै रु ५१ हजार राशीको स्व. भीमप्रसाद घिमिरे स्मृति अक्षयकोष, वि.सं. २०७६ सालमा रु एक लाख एक हजार राशीको स्व. जसमान–जयमति राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । वि.सं. २०७८ सालमा रु दुई लाख २२ हजार २२२ राशीको स्व. असुनमायाँ राई स्मृति अक्षयकोष, सोही वर्ष रु ५० हजार राशीको स्व. आमा–छोरा स्मृति अक्षयकोष र वि.सं. २०७९ सालमा रु ७१ हजार १११ राशीको स्व. दीपबहादुर–नैनकुमारी श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयमा स्थापना भएको १२ वटा अक्षयकोषको सावाँब्याजगरी रु १७ लाख ३० हजार २९९ पुगेको विद्यालयका शिक्षक एवम् अक्षयकोष व्यवस्थापन समितिका संयोजक यादवप्रसाद घिमिरेले जानकारी दिनुभयो । अक्षयकोषबाट आएको ब्याजमध्ये रु एक लाख तीन हजार रकम यस वर्षको वार्षिकोत्सवमा कक्षा–६ देखि कक्षा–१२ सम्मका विद्यार्थीलाई छात्रबृत्ति वितरणका लागि छुट्याइएको जनाइएको छ ।

अक्षयकोषमा जम्मा भएको रकम वार्षिक १८ प्रतिशत ब्याज लगाएर नौँ प्रतिशत छात्रबृत्ति र नौँ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णकुमार राईले जानकारी दिनुभयो । चन्दा सङ्कलन र अक्षयकोषबाट कक्षा–११ र १२ सञ्चालन गरिएको श्री माध्यमिक विद्यालय लफ्याङमा ३६१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया