खानेपानी आयोजना सञ्चालन गर्न च्यास्मीटारमा देउसीभैलो

Halesi Khabar
70 Shares

खोटाङ, २८ कात्तिक । खानेपानी आयोजना सञ्चालनका लागि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयबासीले देउसीभैली कार्यक्रम सञ्चालन गरेको छ । वि.सं. २०७० सालमा सञ्चालनमा आएर ठप्प बनिसकेको शहरबोटे खानेपानी आयोजनालाई पुनः सञ्चालनमा ल्याउन आर्थिक सङ्कलन गर्नेगरी स्थानीय उपभोक्ताले हरिबोधनी एकादशीको अवसर पारेर देउसीभैलो कार्यक्रम गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईको उपस्थितिमा कात्तिक–२१ गते च्यास्मीटारमा भएको सर्वदलीय बैठकले शहरबोटे खानेपानी योजना सञ्चालनका लागि शिक्षक चेसकुमार राईको संयोजकत्वमा आर्थिक सङ्कलन मूल समिति गठन गर्दै देउसीभैली आयोजना गर्ने निर्णय गरेको थियो । हरेक योजनाका लागि सरकारको मुख ताक्ने प्रबृत्ति विपरित च्यास्मीटारका नागरिकले स्थानीय समुदायको सहभागितामा खानेपानी आयोजना सञ्चालन गर्न स्वतःस्फूर्त अग्रसरता देखाएका हुन् ।

नाचगानसहित आयोजना गरिएको देउसीभैली कार्यक्रम तथा विभिन्न आर्थिक सङ्कलन उपसमितिबाट रु तीन लाख १७ हजार ७१६ सङ्कलन भएको समितिका संयोजक राईले जानकारी दिनुभएको छ । समुदायको आफ्नै लगानीमा खानेपानी आयोजना सञ्चालन गर्ने उद्देश्यले शुरु गरिएको आर्थिक सङ्कलन अभियान अबको केही दिनसम्म सञ्चलन गरेर बन्द गर्ने तयारी गरिएको जनाइएको छ ।

आर्थिक सङ्कलन समितिले आयोजना गरेको देउसीभैली कार्यक्रममा नगरप्रमुख राई, उपप्रमुख रमेश राउत, वडाध्यक्ष भूपालसिं राई, वडा नं. ४ बडहरेका वडाध्यक्ष किशोर बस्नेत लगायतका अतिथिहरु स्थानीयबासीसँगै देउसीभैलो कार्यक्रममा रमाएका थिए । वर्ष दिनमा एक पटक मनाइने तिहारमा मनोरञ्जनका लागि खेलिने देउसीभैलो यस वर्ष खानेपानी आयोजना सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएपछि स्थानीयबासी स्वतःस्फूर्त सहभागी भएका हुन् ।

खानेपानी आयोजनाका लागि रकम जुटाउन निजामती कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, वैदेशिक रोजगारमा संलग्न व्यक्ति लगायतको उपसमिति गठन गरिएको छ । शहरबोटे मुहानको पानी च्यास्मीटार र बडहरेमा लैजानका लागि वि.सं. २०६२ सालमा १८ रोपनी खेतसहित खरिद गरिएको थियो ।

खरिद गरेको १९ वर्षसम्म अर्का एक व्यक्तिको नाममा राखिएको खेतसहितको मुहान नगरप्रमुख राईको पहलमा गत कात्तिक–७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएसँगै समुदायको सहभागितामा योजना सञ्चालन गर्ने तयारी थालिएको थियो । लामो समयपछि वडा कार्यालयको नाममा नामसारी गरिएको मुहानलाई समुदायको सहभागितामा व्यवस्थित तरिकाले पुनः च्यास्मीटार र बडहरेमा खानेपानीको धारा लैजानका लागि चालु आर्थिक वर्षबाटै काम शुरु हुने बताइएको छ ।

शहरबोटे खानेपानी आयोजनाका लागि नगरपालिकाले बजेट विनियोजन गरेको अवस्थामा समेत समुदायबाट स्वतःस्फूर्त आर्थिक सङ्कलन भएको नगरप्रमुख राईले बताउनभयो । “रु एक करोड ८२ लाखमा एक लिफ्ट गरेर च्यास्मीटार र बडहरे लैजाने गरि इमी नामक संस्थाको सहयोगमा डिपिआर तयार पारिएको छ । दिउँदे नगरसभाबाट बजेट विनियोजन गरेर खानेपानी आयोजनाको काम शुरु गर्नेगरी योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “खानेपानी आयोजना सञ्चालनका लागि स्थानीयबासीसमेत सक्रियरुपमा लागिपरेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा अबको तीन वर्षभित्र सबै घरमा खानेपानीको धारा उपलब्ध गराउनेगरी लागिपरेका छौँ ।”

बडहरे र च्यास्मीटारका करिब २०० घरधुरीमा खानेपानीको धारा विस्तार गर्नेगरी वि.सं. २०६५ सालमा शुरु गरिएको शहरबोटे खानेपानी आयोजना वि.सं. २०७० माघमा पुरा गरिएको थियो । करिब रु ८१ लाख खर्च गरेर सञ्चालनमा ल्याइएको खानेपानी योजना मर्मत सम्भार अभावमा बन्द भएको हो ।

तपाईको प्रतिक्रिया