देउसीभैलोको रकमबाट बोहोरीबोटका स्थानीयले ग¥यो विपद् व्यवस्थापन कोष स्थापना

Halesi Khabar
70 Shares

खोटाङ, २ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलोमा सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । बोहोरीबोटस्थित स्थानीय लालीगुराँस टोल विकास समितिमा आवद्ध ६० घर स्थानीयबासीमा भैपरी आउने विपत्तिका घटनामा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गर्ने÷गराउने उद्देश्यले देउसीभैलोमा सङ्कलन भएको रु एक लाख दुई हजार रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका हुन् ।

आगामी दिनमा कम्तिमा पनि रु २५ लाखको मौजुदा रकम बनाउनेगरी पहिलो चरणमा देउसीभैलोमा सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरिएको टोल विकास समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । “गाउँघरमा भैपरी आउने घटनाबाट पीडित बनेका व्यक्ति तथा परिवारलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्यले विपद् व्यवस्थापन कोष स्थापना गरेका हौँ । विपद् आइपर्छ भनेर कसैले पनि बचत गरेर राखेका हुँदैनन् । परेको बेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन”, उहाँले भन्नुभयो, “आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन् । आगामी दिनमा त्यस्तो नहोस भनेर विपद् व्यवस्थापन कोष स्थापना गरेका हौँ । घटनाको प्रकृति तथा पीडितको अवस्था हेरेर राहत तथा सापटी दिइनेछ ।”

विपद् व्यवस्थापन कोष स्थापना गर्ने भनेर तिहारमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा स्थानीयबासीले स्वतःस्फूर्तरुपमा दान गर्दा रु एक लाख दुई हजार रकम जम्मा भएको थियो । त्यसैमा क्रमिकरुपले थप्दै लानेगरी स्थापना गरिएको विपद् व्यवस्थापन कोषका लागि बोहोरीबोटमा जन्मिएर रोजगारी, अध्ययन तथा विभिन्न पेशा व्यवसाय सञ्चालन गर्न विभिन्न देश तथा विदेशमा रहेका स्थानीयबासीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

रोजगारीको सिलसिलमा विभिन्न देशमा कार्यरत रहेका स्थानीयबासीहरुलाई संयोजक तोकेर विपद् व्यवस्थापन कोषका लागि रकम सङ्कलन अभियानसमेत शुरु गरिएको जनाइएको छ । यसै अभियान अन्तरगत भर्खरी स्लोभाकीया पुग्नुभएका स्थानीय जयकुमार राईको नेतृत्वमा सङ्कलन भएको रु १४ हजार ५०० रकम कोषमा जम्मा भइसकेको समितिका कोषाध्यक्ष इन्द्रकला राईले जानकारी दिनुभयो ।

कोषमा जम्मा भएको रकमलाई वृद्धि गर्दै लैजान समितिभित्रका स्थानीयबासीलाई घुम्तीकोषको रुपमा पहिलो चरणमा रु ३० हजारसम्म ऋण दिनेसमेत निर्णय गरिएको समितिका सचिव राजेन्द्र मगरले जानकारी दिनुभएको छ । “विपद् व्यवस्थापन कोषको ऋण लिने स्थानीयबासीले आम्दानीको स्रोत वृद्धि गर्ने कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्ने नियम बनाइएको छ । यसले स्थानीयबासीलाई आत्मनिर्भर हुने अवसरसमेत मिल्छ”, स्थानीय शिक्षकसमेत रहनुभएका सचिव मगरले भन्नुभयो, “ऋण लिएर तोकिएको समयमा नबुझाएको खण्डमा हर्जनासहित अशुल गर्ने नियम बनाएका छौँ । सबै कुरा पहिले नै अवगत गराएर ऋण दिने निर्णय गरिएको छ ।”

बोहोरीबोटका स्थानीयबासीले यसअघिदेखि नै प्रत्येक घरबाट मासिक रु ३० सङ्कलन गरेर सामाजिक काम गर्दै आएका छन् । सामाजिक काममा खर्च भएर बँचेको रकम कोषमा जम्मा गरेर ऋणमा दिने गरिएको जनाइएको छ ।

आफ्नो गाउँमा हुने सानातिना कामका लागि आफै आत्म निर्भर हुनुपर्छ भन्ने मान्यताअनुसार मासिक रु ३० सङ्कलन गरेर सामाजिक काममा खर्च गर्ने गरिएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । “अहिले स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा यो मासिकरुपमा सङ्कलन गरिने रु ३० मिसाउँदैनौँ । यो छुट्टै कामका लागि उपयोग हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमा मासिक रु १० सङ्कलन गथ्र्यौँ । अहिले मासिक रु ३० पु¥याइएको छ । त्यही कोषमा जम्मा भएको रकमबाट एउटा सामुदायिक भवनसमेत बनाएर सञ्चालनमा छौँ ।”

नौँ घर मगर र ५१ घर राई परिवारको बसोबास रहेको बोहोरीबोट गाउँमा हुने हरेक काजभोज तथा साँस्कृतिक कार्यक्रम आपसी सहकार्यमा गर्ने गरिएको छ । गाउँमा हुने विवाह, छेवर, पास्नी, गुन्युँचोली तथा मृत्यु कार्यमा आयोजना गरिने भोजभत्तेरमा प्रयोग हुने भाँडाकुँडा, थालबटुको, डाडुपन्युँ, पाल, साउण्डस्टिम, स्ट्रेचर लगायतका सामग्री आफैले सङ्कलन गरेको रमकले खरिद गरेका छन् ।

तपाईको प्रतिक्रिया