स्वर्गीय प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना

Halesi Khabar
959 Shares

खोटाङ, २ मङ्सिर । हृदयघातका कारण ज्यान गुमाउनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भाइटीका लगाएर काठमाडौँबाट घर (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्य गाउँ) फर्कनेक्रममा गत कात्तिक–२१ गते ज्यान गुमाउनुभएका ३९ वर्षीय प्रधानाध्यापक धमलाको स्मृतिमा परिवारका सदस्य तथा आफन्तले अक्षयकोष स्थापना गरेका हुन् ।

हृदयघातका कारण अल्पायुमै ज्यान गुमाउनुभएका प्रधानाध्यापक धमलाको १२ औँ पुण्य तिथिको अवसर पारेर अक्षयकोष स्थापना गरिएको मृतकका साथी एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता गोपालचन्द्र आचार्यले जानकारी दिनुभयो । “मृतक धमला एउटा शिक्षकमात्र नभइ समाजसेवीसमेत हुनुहुन्थ्यो । उहाँको अल्पायुमै भएको दुःखद् निधनले परिवार तथा समाजमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “एकजना कुशल प्रधानाध्यापक तथा समाजसेवी धमलाको मृत्युभएपछि उहाँको स्मृतिमा ‘मेघराज धमला स्मृति प्रतिष्ठान’ दर्ता गर्ने तयारीमा जुटेका छौँ । सोही प्रतिष्ठानको हातहतमा रहनेगरी परिवारका सदस्य तथा आफन्त मिलेर अक्षयकोष स्थापना गरिएको हो ।”

आगामी दिनमा अक्षयकोषको राशी बढाउँदै लैजानेगरी स्थापना गरिएको ‘स्वर्गीय मेघराज धमला स्मृति अक्षयकोष’को वार्षिक ब्याजबाट वर्षेनी एकजना जिल्ला उत्कृष्ट प्रधानाध्यापक तथा मृतक प्रधानाध्यापक धमला कार्यरत विद्यालयका उत्कृष्ट एकजना विद्यार्थीलाई पुरस्कृत गरिने जनाइएको छ । मृतक प्रधानाध्यापक धमलाको नाममा स्थापना गरिएको अक्षयकोष घोषणा कार्यक्रममा मृतक धमलाका परिवार तथा आफन्तगरी २९ जना व्यक्तिले स्वैच्छिकरुपमा रु नौँ लाख ४५ हजार रकम उपलब्ध गराएका छन् ।

अक्षयकोषमा मृतकका जेठा दाजु तुलसी धमलाले रु दुई लाख, माहिला दाजु यादव धमलाले रु एक लाख, साडुभाइ ओमप्रकाश घिमिरेले रु एक लाख तथा भिनाजु युवराज फुयाल र साडुभाइ श्याम प्रधानले रु ५०÷५० हजार रकम उपलब्ध गराउनुभएको छ । यस्तै, काका लोकनाथ धमला, दाजुहरु डिल्लीराम धमला, भरत धमला र मनोज आचार्यले रु २५÷२५ हजार रकम उपलब्ध गराउनुभएको जनाइएको छ ।

साथीहरु गोपालचन्द्र आचार्य, हरिवोल आचार्य, जोसेफ रिजाल, उत्तम आचार्य, प्रकाश आचार्य, इन्द्रप्रसाद आचार्य, पदमप्रसाद आचार्य ‘माझघरे’ र युवराज बस्नेतले पनि रु २५÷२५ हजार रकम उपलब्ध गराउनुभएको छ । यस्तै, मृतक धमला कार्यरत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले रु २५ हजार, भिनाजु झमप्रसाद आचार्य, दाजु टङ्कप्रसाद आचार्य ‘टिपी’ र भाइ पङ्कज आचार्यले रु १५÷१५ हजार रकम उपलब्ध गराउनुभएको छ ।

काका परशुराम ढुङ्गाना, दाजुहरु पदमप्रसाद आचार्य र छवि आचार्य, ज्वाइँ नेत्र बास्तोला, साथीहरु विराज आचार्य, फडिन्द्र आचार्य र अर्जुन खवासले रु दश÷दश हजार तथा दाजु तुलसी धमला (क)ले रु पाँच हजार उपलब्ध गराउनुभएको छ । घोषणा कार्यक्रममा रकम उपलब्ध गराउन छुट भएका शुभेच्छुकले बैङ्क खातामा समेत उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

अक्षयकोष घोषणा कार्यक्रमकै अवसर पारेर मृतक धमलाका दाजु यादव धमलाको अध्यक्षतामा दश सदस्यीय ‘मेघराज धमला स्मृति प्रतिष्ठान’ तदर्थ समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तोषी बस्नेत, सचिवमा गोपालचन्द्र आचार्य र कोषाध्यक्षमा मैया आचार्य रहनुभएको छ ।

दाजु यादव धमलासँग एउटै मोटरसाइकल चढेर काठमाडौँबाट घर फर्कदै गरेको अवस्थामा नेपालथोक आइपुग्दा मुटु दुखेर एक्कासी बेहोस बन्नुभएका प्रधानाध्यापक धमलालाई एम्बुलेन्समार्फत बनेपाको धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ रिफर गरिएकोमा गङ्गालाल पु¥याउना साथ उहाँलाई मृत घोषणा गरेको हो ।

दिदीको हातको हातबाट फूलटीका लगाएर फर्कनेक्रममा ज्यान गुमाउनुभएका प्रधानाध्यापक धमलाको पार्थिव शरीर कात्तिक–२२ गते घरमा ल्याएर गुप्तेश्वर आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । प्रधानाध्यापक धमलाको निधनको शोकमा नगरपालिकाको कार्यालयमा आधा घण्टा राष्ट्रिय झन्डासमेत झुकाइएको थियो ।

मृतक प्रधानाध्यापक धमलाको श्रीमती र दुई छोरी छन् । मृतक प्रधानाध्यापक धमला खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठका जेठो ज्वाइँ (जेठी छोरी करुणा श्रेष्ठकी श्रीमान्) हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया