खोटाङ, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले शहरबाट गाउँ फर्कनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक हरि रोकाको धान काट्न श्रमदान गरेका छन् । सपरिवार ४० वर्षसम्म काठमाडौंँ बसेर गाउँ फर्कनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक रोकाको घर दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँस्थित खेतमा पुगेर श्रमदानमार्फत धान काट्न सहयोग गरेका हुन् ।
गाउँ छाडेर शहर जाने ताँतीको माझमा शहरबाट गाउँ फर्किएर आफ्नै खेतबारीमा खेती किसानी गरिरहनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक रोकाको सम्मान र सहयोगका लागि बुधबार एक दिन धान काट्न श्रमदान गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद)ले बताउउनुभयो । “पार्टीले आयोजना गरेको जनश्रमदान अभियान अन्तरगत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौँ । पछिल्लो समय गाउँ छाडेर शहर जाने जिल्लावासीको ताँती नै लाग्न थालेको छ । यो बिकराल अवस्थामा शहरबाट गाउँ फर्किएर खेती किसानीमा लाग्नुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक रोकाको सम्मान र सहयोगका लागि पार्टीकै आयोजनामा धान काट्न श्रमदान गरिएको हो”, उहाँले भन्नुभयो, “संविधानसभा सदस्यसमेत रहनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक हरि रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक सन्देश प्रवाह भएको छ । उहाँको यो कार्यले सबै नागरिक कुनै न कुनै उत्पादनमूलक व्यवसायसँग जोडिनुपर्छ भन्ने सन्देशसमेत दिएको छ ।”
दिक्तेलबाट डाँडागाउँस्थित खुतुम्बु पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले रोकाको ३१ पाथी बीउ जाने खेतको धान काट्न सहयोग गरेका छन् । धान काट्न जुटाइएको श्रमदानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बू लगायत दुई दर्जन बढी नेता तथा कार्यकर्ता सहभागी भएको जनाइएको छ ।
सर्वसाधारण किसानको खेतमा पुगेर श्रमदान गर्ने योजना भए पनि शहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ । हरि रोकास्तरका मान्छे गाउँ फर्केर आउँदा अरुलाई पनि गाउँ आउन उत्प्रेरणा मिल्ने भएकाले सहयोग गरिएको तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) सरकारका पूर्व उर्जा, सिँचाइ तथा खानेपानीमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पासाङले बताउनुभएको छ ।
उजाड हुँदै गएको गाउँघरलाई हराभरा बनाउन, गाउँमा पुनः जागरण ल्याउन र आम मानिसका लागि सुखद् वातावरण बनाउन टेवा पु¥याउने लक्ष्यका साथ सपरिवार गाउँ फर्किएको रोकाले बताउनुभएको छ । अर्थविद् एवम् राजनीतिक विश्लेषक रोका वि.सं. २०७९ सालमा सपरिवार गाउँ फर्किएर खेती किसानीमा लाग्नुभएको हो ।
यसैबीच, दश स्थानीय तह रहेको जिल्लाका कृषकलाई यतिखेर धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफल खेतमा धान खेती हुँदै आएको छ ।
जिल्लामा बास्मती, अट्टेमार्सी, चम्पासरी, भोटाङ्गे, तौली, ताइचिन, मनकामना, मन्सुली, राधा, मकनापुर–१, हिमाली लगायत विभिन्न प्रजातिका धान खेती हुँदै आएको छ । जिल्लामा उत्पादित धानमध्ये सबैभन्दा बढी बास्मती र भोटाङ्गे उपभोक्ताको रोजाइमा पर्ने गरेको कृषकहरुले बताउने गरेका छन् ।
जिल्लामा उत्पादित धानको चामल स्थानीय हाटबजार तथा राजधानी काठमाडौँ लगायत विभिन्न शहरमा निर्यात हुने गरेको छ । जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले पनि कृषकले उत्पादन गरेका हरेक कृषि उपज राजधानी काठमाडौँ लगायतका शहरमा निर्यात गर्न सहज भएको छ ।