‘मेरो गोल, लैङ्गिक हिङ्साविरूद्धको बोल’ भन्ने नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता

Halesi Khabar
35 Shares

खोटाङ, ६ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ (टिम) टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानको अवसरमा पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुनका लागि जिल्ला तथा जिल्ला बाहिरका गरी विभिन्न स्पोर्टस् क्लबमा आवद्ध १७ टोलीले नाम दर्ता गरेका हुन् ।

‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशि रु एक लाख दश हजार १११ रहेको छ । जिल्लामा यसअघि आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशिभन्दा हलेसीमा आयोजना गरिएको प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक हो ।

प्रतियोगिताका लागि जिल्लाका विभिन्न स्थानीयमा दर्ता भएका स्पोर्टस् क्लबहरुका साथै छिमेकी जिल्लाहरु ओखलढुङ्गा र भोजपुरका विभिन्न क्लबमा आवद्ध खेलाडीले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । नगरपालिकाले पहिलो पटक आयोजना गरेको महिला फुटबल प्रतियोगिताको खेल तालिका भोलि (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ ।

मङ्सिर–८ गते शनिबारबाट औपचारिकरुपमा शुरु हुने महिला फुटबल प्रतियोगिता त्रिधार्मिकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

मङ्सिर–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद रु एक लाख दश हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

सेमिफाइनलिस्ट दुई समूहलाई जनही नगद रु २२ हजार २२२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । यस्तै, विद्यागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक हजार ५५५ तथा विद्यागततर्फ कै अन्य खेलाडीलाई जनही रु एक हजार १११ का दरले नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले महिला फुटबल प्रतियोगितासँगै महिला जनप्रतिनिधिका लागि म्युजिकल चियर प्रतियोगितासमेत आयोजना गरेको जनाइएको छ । दुवै प्रतियोगिता समापनको अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा पहिलो पटक सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता आयोजना गरिएसँगै खेलाडीहरु उत्साहित भएका छन् । प्रतियोगिता आयोजना नहुँदा अवसर नपाएर बसेका खेलाडीहरु नगरपालिकाको आयोजनामा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुने भएपछि उत्साहित भएका हुन् ।

दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने त्रिधार्मिकस्थल हलेसीमा नगरपालिकाले पहिलो पटक सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता आयोजना गर्नाले आफूहरुको व्यापार व्यवसायमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको व्यवसायीहरुले बताएका छन् । महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गर्नुका साथै खेलाडीहरुसमेत हलेसी आउन थालिसकेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया