खोटाङ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमितिले सञ्चालन गरेको श्रम शिविरमार्फत ग्रामीण सडक मर्मत शुरु गरिएको छ । वर्षाद्को समयमा हिलाम्मे र हिउँद्को समयमा धुलाम्मे भएर यातायात अवरुद्ध हुँदै आएको वडा नं. ५ स–छितापोखरीस्थित तृतीयाभञ्ज्याङदेखि वडा नं. ६ छितापोखरीबजारसम्मको ग्रामीण सडक एमालेले श्रम शिविरमार्फत मर्मत शुरु गरेको हो ।
पाँच दिने श्रम शिविर सञ्चालन गर्ने पार्टीको निर्णयअनुसार रु दश हजार बराबरको औजार खरिद गरेर ग्रामीण सडक मर्मत, सरसफाइ तथा नाली निर्माणको काम शुरु गरिएको एमाले गाउँपालिका कार्यसमिति अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । श्रम शिविरको पहिलो दिन अर्थात् हिजो (बिहीबार) तृतीयाभञ्ज्याङबाट शुरु गरिएको सडक मर्मत श्रमदानमा एमालेका ७५ जना नेता तथा कार्यकर्ताले सहभागी भएका थिए ।
श्रम शिविरमा एमाले केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका निवर्तमान सामाजिक विकासमन्त्री उषाकला राई, जिल्ला कार्यसमिति खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दङ्गाल, प्रदेश समिति सदस्य एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राई लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको जनाइएको छ । पाँच दिने श्रम शिविरमा करिब सात किलोमिटर सडक मर्मत गर्नेगरी अभियान शुरु गरिएको एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमिति सुपेन्द्र राईले जानकारी दिनुभएको छ ।
दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित रसुवाघाटबाट वडा नं. ४ बतासे हुँदै पञ्चमीबजार तथा छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक यसअघि मर्मत अभावमा पटकपटक अवरुद्ध हुँदै आएको थियो । साकेला गाउँपालिकाका स्थानीयबासीले समेत उपयोग गर्दै आएको उक्त ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन हुनेगरी श्रम शिविरमार्फत मर्मत शुरु गरिएको एमाले गाउँपालिका कार्यसमितिले जनाएको छ ।
पहिलो दिन दिउँसोमात्र सञ्चालन गरिएको श्रम शिविर आज (शुक्रबार)बाट बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । एमाले गाउँपालिका कार्यसमितिले सञ्चालन गरेको श्रम शिविरमा स्थानीयवासीहरुसमेत स्वतःस्फूर्तरुपमा सहभागी भएका छन् ।
निर्माण गरेको लामो समयसम्म कच्ची अवस्थामा सञ्चालन हुँदै आएको ग्रामीण सडक एमाले गाउँपालिका समितिले सञ्चालन गरेको श्रम शिविरमार्फत मर्मत शुरु गरिएसँगै बाह्रै महिना सञ्चाल हुने अपेक्षा गरिएको छ । श्रम शिविरमा सहभागीलाई एमाले गाउँपालिका समितिले स्थानीयस्तरमा उत्पादित खाद्य पदार्थ (भुटेको मकै र भटमास तथा उसिनेको आलु र करेला) खाजाको उपलब्ध गराउने गरिएको एमाले गाउँपालिका कार्यसमिति अध्यक्ष राईले जानकारी दिनुभएको छ ।