खोटाङ, ८ मङ्सिर । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग)को थप पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस–१७ गतेबाट औपचारिकरुपमा शुरु हुँदै छ । मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ ।
‘मुन्दुम ट्रेल’को स्तरोन्नति तथा पर्यटन प्रवद्धन गर्न आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्यगरी करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो । “मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तिमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको । यसका लागि आन्तरिक तयारीलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको संयोजकत्व र ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मूल व्यवस्थापन समितिको बैठक बसेर मुन्दुम ट्रेलसँग जोडिएका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्रियाकलापहरू आयोजना गर्न लगाउने निर्णयसमेत गरिएको छ । यसले बाह्य पर्यटकका लागि आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।”
‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठ स्टे (गोठवास) महोत्सव, खोटाङकै साकेला गाउँपालिकामा उँभौली साकेला तथा अन्य साँस्कृतिक महोत्सव, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गरिने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो । पहिलो पटक आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयवासीले धमाधम होम–स्टे (घरवास) तथा गेष्ट हाउस (पाहुनाघर)हरु निर्माण गरिरहेका छन् ।
नेपाल सरकारको १०० वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब १०७ किलोमिटर लामो दूरीको छ । प्राकृतिकरुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।
‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवद्र्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभएको छ ।
साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गखण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताको आधारमा निर्माण शुरु गरिएको ‘मुन्दुम ट्रेल’को अवधारणा वि.सं. २०७५ पुस–२१ गते औपचारिकरुपमा अघि सारिएको हो ।
प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्लाहरु खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट शुरु भएको यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण शुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।
हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभएको छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।
ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।
मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० सालमा यही पदमार्गको एउटा रुट (बाटो) प्रयोग गर्नुभएको जनाइएको छ ।
मानववस्ती कम पाइने ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागतरुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे (गोठवास)को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।