अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति

Halesi Khabar
77 Shares

खोटाङ, ८ मङ्सिर । ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन अवस्थामै अलपत्र परेको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहानको लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पुनः शुरु गर्ने सहमति भएको छ । स्थानीयवासी, निर्माण व्यवयायी, जनप्रतिनिधि, प्रशासन, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लगायतको बृहत छलफलपछि अवरुद्ध आयोजनाको काम पुनः शुरु गर्ने सहमति भएको हो ।

ठेकेदार कम्पनीले १५ दिनभित्र कार्यसूची बुझाउने, हरेक १५–१५ दिनमा कार्यप्रगतिको विवरण कार्यालयलाई बुझाउने, काम सकिएको ठाउँसम्म पानी खसाल्ने, मुहानदेखि नै पुनः काम शुरु गर्ने लगायतका विषयमा सहमति भएको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर डा. महेश यादवले बताउनुभयो । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, गाउँपालिका प्रमुख लोकेन्द्र राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायत स्थानीयवासीको बृहत उपस्थितिमा स्थलगत अध्ययनपछि हिजो (शुक्रबार) आयोजित भेलाले उक्त सहमति गरेको हो ।

कोशी प्रदेश सरकार, खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय विराटनगरको रु आठ करोड ८४ लाख २३ हजार लागतमा वि.सं. २०७८ पुस–२३ गतेसम्म सक्ने गरी वि.सं. २०७६ असार–२३ गते स्काइ–विवश–रामसागर जेभीले सम्झौता गरेपनि अहिलेसम्म अपूरै छ । गाउँपालिकाको तल्लो भेगका कृषकलाई लक्षित गरेर शुरु गरिएको सिँचाइ कुलो आयोजनाको काम अलपत्र परेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

स्थानीयको अवरोधले काम गर्न नसकेको भन्दै पटक–पटक म्याद थप हुँदै आएको आयोजना निर्धारित अवधिमा काम नसकिएपछि पुनः वि.सं. २०८१ चैत–१६ गतेसम्मका लागि म्याद थपिएको छ । ठेकेदारले काम नगरेपछि पटक–पटक म्याद थप्दा आयोजनाको लागत मूल्य बढेर रु दश करोड नौँ लाख १३ हजार पुगेको जनाइएको छ ।

तीन वर्षअघि शुरु गरिएको आयोजनाको भौतिक प्रगति ७० र आर्थिक प्रगति ६८ दशमलव ६७ प्रतिशत भएको डा. यादवले जानकारी दिनुभएको छ । “यो भन्दा अगाडि जेभीमा सहभागी विवश नेश्नल कन्ट्रक्सनले काम गरेको र उसले काम छाडेपछि यसमा सहभागी अन्य निर्माण कम्पनीसमेत कालो सूचीमा पर्ने भएकाले रामसागरले काम गर्ने तत्परता देखाएको छ । राम सागर सम्वद्ध सागर लुइटेलले १५ दिनभित्र काम थाल्ने गरी तयारी शुरु गरेको बताएका छन्”, उहाँले भन्नुभयो, “स्थलगतरुपमा उपस्थित भएर गरिएको सर्वपक्षीय सहमतिले केही आशा जगाएको छ । अब पनि काम नभएको खण्डमा निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाहीको प्रक्रिया थाल्छौँ ।”

निर्माणको काममा सहजीकरण गर्नका लागि एउटा कार्यदलसमेत बनाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख राईले बताउनुभयो । गाउँपालिका प्रमुख राईका अनुसार वडा नं–४ का वडाअध्यक्ष बबि राई, वडा नं. ५ का वडाअध्यक्ष डम्बर खड्का र वडा नंं. ६ का वडाध्यक्ष मिलन राई सम्मिलित कार्यदल बनेको हो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले यसअघि आयोजनाको स्टिमेट अनुसार काम नगरेको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए । तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याउनुपर्नेमा त्यस्तो नभएको, गुणस्तरहीन कामले गर्दा त्यसमा ल्याइएको पानी फुटेर गाउँ बगाउने जोखिम हुने हुँदा स्थानीयवासीले विरोध गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य पासाङ तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) सरकारका सिँचाइ, जलश्रोत, उर्जा तथा खानेपानीमन्त्री हुँदा विनियोजित बजेटबाट शुरु गरिएको सिँचाइ कुलो आयोजनाले उक्त गाउँपालिकाको वडा नं. ४ बतासे, वडा नं. ५ सप्तेश्वर छितापोखरीको तल्लो भागमा सिँचाइ सुविधा पुग्ने गरी निर्माण थलिएको थियो । ठेकेदारको लापरबाहीले आयोजना अलपत्र परेपछि तत्काल सञ्चालनको माग गर्दै स्थानीयवासी एवम् नेपाली काँग्रेसका नेता केशवकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले विभिन्न निकायमा ज्ञापनपत्र बुझाएर तत्काल अवरुद्ध काम सञ्चालनमा ल्याउन माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया