खोटाङ, ११ मङ्सिर । केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघर सम्बन्धी रोगले समस्याग्रस्त ३२ जना महिलामध्ये १९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
पाठेघर खस्ने समस्याबाट लामो समयदेखि ग्रसित बनेर बसिरहेका महिलाहरुलाई निःशुल्क उपचार गराउने उद्देश्यले गाउँपालिकाको तर्फबाट अस्पताल पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका महिलाको उपाचरका लागि सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । शीर मेमोरियल अस्पतालले प्राविधिक सहयोग निःशुल्करुपमा गरेको छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गरिएका महिलाका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चारजना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगारानी र हेरचाहमा उपचार भइरहेको छ । उनीहरुका लागि कुरुवाको समेत व्यवस्था गरिएको छ ।”
सार्वजनिक बस भाडामा लिएर यही मङ्सिर–७ गते बनेपास्थित अस्पताल पठाइएका ३२ जना महिलामध्ये सात जनामा पाठेघर सम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएकोे जनाइएको छ । दोस्रो चरणको समस्यामा रहेका महिलाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा सुधार हुने भएकाले शल्यक्रिया नगरिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको सुझाव रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका विभिन्न वडाबाट उपचारका पठाइएका अन्य महिलामा मुटु, उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न प्रकारका समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्न नमिल्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभएको छ । “शल्यक्रियाका लागि पठाइएका ३२ जना महिलामध्ये मङ्सिर–११ गते मङ्गलबारसम्ममा १९ जनाको शल्यक्रिया सफल भएको छ । सात जनामा दोस्रो चरणको मात्र समस्या देखिएकाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा समस्या सुधार हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्”, उहाँले भन्नुभयो, “बाँकी छ जनामा विभिन्न प्रकारका रोगको समस्या देखिएका कारण उनीहरुलाई पुनः पठाउनेगरी फर्काइएको छ । स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराएर फर्काइएका उनीहरुलाई दोस्रो चरणमा पठाइने महिलाहरुसँगै शल्यक्रियाका लागि पुनः पठाउने तयारी गरेका छौँ ।”
नागरिकको स्वास्थ्यवस्थाका बारेमा गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्दा गाउँपालिकाभित्र बसोबास गर्ने ५६ जना महिलामा आङ खस्ने समस्या देखिएको जनाइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले नियमित औषधि सेवन गर्नुपर्ने दीर्घ रोग भएका नागरिकका लागि निःशुल्करुपमा औषधि उपलब्ध गराउँदै आएको छ ।
पाठेघर खस्ने समस्या भएका महिलालाई यसअघि जिल्लाका अन्य स्थानीय तहले पनि बनेपास्थित सोही अस्पताल लगेर निःशुल्क शल्यक्रिया गराएका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पाठेघर खस्ने समस्याका महिलालाई सुविधा सम्पन्न अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिलाहरुलाई राहत मिलेको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामा आङ खस्ने समस्या अधिक हुने भए पनि यकिन तथ्याङ्क सङ्कलन नहुँदा उपचारमा गम्भीर समस्या सिर्जना हुने गरेको छ । समस्यामा परेका महिलाले बाहिर नल्याउनु र सही तथ्याङ्क नआउनुले जिल्लामा आङ खस्ने समस्या बिकराल बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।