आकाशको पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानीको व्यवस्था

Halesi Khabar
0 Shares

खोटाङ, १३ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । खानेपानीको चरम समस्या रहेको च्यास्मिटार माविमा वर्षाद्को समयमा पर्ने आकाशे पानीलाई सङ्कलन गरेर फिल्टरिङ (शुद्धीकरण) गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थी तथा त्यहाँ कार्यरत शिक्षकको लागि खानेपानीको व्यवस्था मिलाइएको हो ।

हलेसी तुवाचुङ नगरपालिको पहलमा बेस्ट वाटर संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी फिल्टर गरेर पिउन योग्य बनाइएको विद्यालयका प्रधानाध्यापक तेजकुमार राईले बताउनुभयो । “विद्यालयको दुईवटा पक्की भवनको छतमा वर्षिने वर्षाद्को पानीलाई ३० हजार लिटरको तीनवटा हिलट्याङ्कीमा जम्मा गर्ने गरिएको छ । उक्त ट्याङ्कीबाट लिफ्ट भएर एक हजार लिटरको अर्को ट्याङ्कीमा जम्मा हुन्छ । त्यहाँ पानी फिल्टर हुन्छ”, उहाँले भन्नुभयो, “फिल्टर भएको पानी पाँच हजार लिटरको ट्याङ्कीमा पानी राखिन्छ । उक्त ट्याङ्कीबाट भने विद्यालय परिसरमा निर्माण गरिएको चारवटा धारामार्फत उपयोग गर्ने गरिएको छ ।”

वर्षाद्को समयमा तीनवटा ठूला ट्याङ्की भरिएमा वर्षभरि खानेपानीको समस्या नहुने विद्यालय प्रशासनले जनाएको छ । बेस्ट वाटर संस्थाको रु १२ लाख र विद्यालयको रु एक लाख ९० हजार रकममा खरिद गरिएको उपकरण जडान गरेर शिक्षक तथा विद्यार्थीका लागि अकाशे पानी शुद्धीकरण गरिएको हो ।

विद्यालयको पक्की भवनको छतमा सङ्कलन भएको पानी फिल्टरिङ गरिएपछि पिउनको लागि योग्य रहेको खानेपानी सम्बन्धी काम गर्ने प्राविधिकहरुले बताएका छन् । फिल्टरिङ गरिएको पानी गत साउनबाट नै विद्यालयले प्रयोग गर्न थालिसकेको थियो । अहिले विद्यार्थी र शिक्षकले सोही पानी उपभोग गरिरहेका छन् ।

बेस्ट वाटर संस्थाले यही मङ्सिर–९ गते विद्यालयलाई औपचारिकरुपमा खानेपानी योजना हस्तान्त्रण गरेको जनाइएको छ । जिल्लामै पहिलो पटक सञ्चालित खानेपानी योजना बेस्ट वाटर संस्थाले विद्यालयलाई हस्तान्तरण गरेपछि नगरप्रमुख विमला राईले औपचारिकरुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रमेशकुमार राउत, बेस्ट वाटर संस्थाका प्राविधिक अधिकृत गोकुल दङ्गाल, बेस्ट वाटर संस्थाका दाताहरु अर्पना पोखरेल, अनमिका अर्याल र सरोज भण्डारी तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि शुद्ध खानेपानीको व्यवस्था भएपछि सहज भएको प्रधानाध्यापक राईले बताउनुभएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने च्यस्मिटार माविका शिक्षक तथा विद्यार्थीले यसअघि नजिकैको होटल पसलमा गएर पानी पिउनुपर्ने बाध्यता थियो । आकाशे पानीलाई फिल्टर गर्ने प्रविधि जडान गरिएपछि विद्यार्थीहरुले आनन्दले शुद्ध खानेपानी सेवन गर्न पाएका छन् ।

जिल्लाको उश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाको सबै (एघारवटै वडा)मा वर्षौदेखि खानेपानीको समस्या छ । त्रिधार्मिकस्थल (हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल) हलेसी रहेको उक्त नगरपालिकाका स्थानीयवासी ट्याक्टर तथा गाग्रीमा दूधकोशी नदीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।

चार हजार ८९७ उपभोक्ता रहेको हलेसी क्षेत्रका स्थानीयवासीका लागि दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र अवस्थामा छ । नेपाल सरकारको रु ९६ करोड ४५ लाख चार हजार १३८ लागतमा सम्पन्न गर्नेगरी वि.सं. २०७४ सालदेखि निर्माण शुरु भएको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।

आयोजनाको एक नं. ‘प्याकेज’ अन्तरगत वडा नं. ८ सल्लेको महादेवबेँसीबाट वडा नं. ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नं. प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं. १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले वि.सं. २०७६ मङ्सिरमा सक्नेगरी वि.सं. २०७४ असार–२१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा पटकपटक म्याद थपिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि खानेपानी आयोजना अलपत्र परेको हो ।

तपाईको प्रतिक्रिया