खोटाङ, १५ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसरमा ‘रेडपाण्डा र थार महोत्सव’ गर्ने भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलहरुमा पाइने लोपोन्मुख जनावरहरु रेडपान्डा र थारको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रशार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने तयारी गरिएको हो ।
महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाअध्यक्षहरू, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसको आधारमा महोत्सवको मिति निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरुको महत्वपूर्ण भूमिका रहन्छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हामीले रेडपान्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “महोत्सव सफल बनाउन वडा नं. १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा तयारी समिति बनाइएको छ । पन्ध्रवटै वडाका वडाध्यक्षहरु सम्मिलित तयारी समितिले महोत्सवका लागि विस्तृत अध्ययन गरेर योजना बनाउँछ । तयारी समितिले योजना बनाएर कार्यपालिकाको बैठकमा पेश गरेपछि महोत्सवको मिति निर्धारण गर्छौँ ।”
आगामी पुस–१७ गतेबाट औपचारिकरुपमा शुरु हुने ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसरमा खोटाङकै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठ स्टे (गोठवास) महोत्सव तथा साकेला गाउँपालिकामा उँभौली साकेला तथा अन्य साँस्कृतिक महोत्सव गर्ने तयारी गरिएको छ । यस्तै, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम गर्ने तयारी गरेका छन् ।
पहिलो पटक आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयवासीले धमाधम होम–स्टे (घरवास) तथा गेष्ट हाउस (पाहुनाघर)हरु निर्माण गरिरहेका छन् । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवधिमा करिब एक लाख पर्यटक भित्र्याउने गरी ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल बनाउन ‘मुन्दुम ट्रेल’सँग जोडिएका विभिन्न स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलापहरू गर्न अनुरोध गरिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभएको छ । “मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तिमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यसका लागि आन्तरिक तयारीलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको संयोजकत्व र ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मूल व्यवस्थापन समितिको बैठक बसेर मुन्दुम ट्रेलसँग जोडिएका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्रियाकलापहरू आयोजना गर्न लगाउने निर्णयसमेत गरिएको छ । यसले बाह्य पर्यटकका लागि आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।”
नेपाल सरकारले घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब १०७ किलोमिटर लामो दूरीको छ । प्राकृतिकरुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।
वि.सं. २०७५ पुस–२१ गते औपचारिकरुपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट शुरु भएको ‘मुन्दुम ट्रेल’मा उक्त स्थानीय तहको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा स्तरोन्नतिको काम गरिएको जनाइएको छ ।
प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्लाहरु खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।
खोटाङ र भोजपुरको सीमामा यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण शुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।
हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभएको छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।
ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।
मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । मानववस्ती कम पाइने ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् ।