बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा माग्ने दुईजना प्रहरी नियन्त्रणमा

Halesi Khabar
252 Shares

खोटाङ, १७ मङ्सिर । बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा मागेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनि उपलब्ध गराएको नक्कलीपत्रको आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिड्ने दुई युवालाई प्रहरीले आज (सोमबार) पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको क्रियाकलाप शङ्कास्पद लागेपछि सोधपुछ गर्दा बास्तविक नामथर बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका स्थानीयवासी १९ वर्षीय अजयराम चमार र सोही स्थानका १९ वर्षीय जितेन्दरराम चमार पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी,प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । “शहीद लखन गाउँपालिकामा जम्मा नौँवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं. वडा लेखिएको छ”, उहाँले भन्नुभयो, “पत्रमा उनीहरु जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरु मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरु दुवै जनालाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।”

शहीद लखन गाउँपालिका वडा नं.–११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर–१० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने, पत्रमा उल्लेख छैन ।

अचम्मको कुरा त यतिसम्म छ कि, उनीहरु दुवैले वि.सं. २०८१ मङ्सिर–८ गतेदेखि वि.सं. २०८१ चैत–१४ गतेसम्म घुम्न पाउने र त्यसपछि मान्यता नहुने भनिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐन अन्तरगतको कसूरमा जिल्ला अदालत खोटाङबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार ७६० समेत रकम बरामद गरेको जनाइएको छ । पक्राउ परेका उनीहरुले एकजना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैजनाले प्रयोग गर्दै आएको सिफारिसपत्रमा आ–आफ्नो दिदी विद्युतीय दुर्घटनामा परी बिरामी रहेको र उनको उपचारमा खर्च अभाव भएकाले सहयोग माग्दै हिँड्न बाध्य भएको लेखिएको छ । पक्राउ परेका उनीहरु दुवैजनामाथि किर्ते जालसाजी सम्बन्धी मुद्दामा समेत अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिनुभयो ।  ।

तपाईको प्रतिक्रिया