काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा २९औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै छन्। सुनुवाइ समितिबाट आजै सर्वसम्मत नाम अनुमोदन भएका राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको उमेर हदका कारण आजदेखि कार्यकाल सकिँदैछ ।
पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उनको जन्म भएको थियो । हाल उनी सुकेधारा काठमाडौँमा बस्दै आएका छन् । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गरे ।
उनले तत्कालीन काठमाडाँै नगरपञ्चायत र काठमाडौँ नगरपालिकाको कानूनी सल्लाहकारका रुपमा विसं २०३९ देखि विसं २०४९ सम्म काम गरे। न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाशीका रुपमा काम शुरु गर्नुभएका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर मोरङ, मकवानपुर, सुर्खेतलगायतका जिल्लामा काम गरेका थिए ।
विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे। त्यसक्रममा पुनरावेदन अदालत दिपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पठाएका थिए । विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका राणाले न्याय क्षेत्रका गोष्ठीमा भाग लिने क्रममा दक्षिण कोरिया, श्रीलङ्का, जापानको भ्रमण गरेका छन् ।
उनको कार्यकालमा तत्कालीन पुनरावेदन र विशेष अदालतमा रहँदा चार हजार ५०० सर्वोच्च अदालतमा रहँदा छ हजार ४३८ थान मुद्दा गरी करीब ११ हजार मुद्दा फछ्र्यौट भएको छ । उनको कार्यकालमा सौतेनी आमा अंशमा अधिकार र गुठी सञ्चालनमा छोरीको हक, वैदेशिक रोजगारीमा हुने ठगीमा पीडकलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने, पर्वतारोहणका समयको प्रामाणिकता, सरकारी जग्गाको संरक्षणको फैसला भएका छन् ।