डिएम चाम्लिङ राई/
चिसापानी, १८ पौष– स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा खोटाङको जन्तेढुंगा गाउँपालिकाले पूर्वाधार निर्माण अन्तर्गत सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । चुनावताका घोषणापत्रमा उल्लेख गरिएका शर्त र गाउँपालिकाको आवश्यकता अनुसार ५० प्रतिशतभन्दा बढी बजेट सडकको नाममा विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राईले बताए । अध्यक्ष राईले भने –‘हामी निर्वाचित भएपश्चात पालिका र प्रत्येक वडासम्म एम्वुलेन्स आवतजावत गर्नेसम्मको सडक निर्माण गरेका छौं, निकट भविष्यमानै उक्त सडकहरुको स्तरोन्नती र ग्राभेलिङको काम सम्पन्न गर्नेछौं ।’
त्यसो त, गाउँपालिकाले तराईलाई जोड्ने मुख्य सडकलाई पनि प्राथमिकता दिएको छ भने अन्तर गाउँपालिका र अन्तरजिल्ला जोड्ने सडकको लागि पनि बजेट विनियोजन गरेर काम अघि बढाईएको गाउँपालिका उपाध्यक्ष विमला राई बताउँछिन् । उनले भनिन् –‘गतवर्षको बजेटबाट सडकलाई प्राथमिकता दिएर काम अघि बढाईयो, यो वर्ष पनि अधिकांश बजेट सडक निर्माणमै विनियोजन गरिएको छ ।’
गाउँपालिकाबाट विनियोजित बजेट उपभोक्ता समिति मार्फत काम गराउँदा सोचेअनुसारको विकास हुन नसकेको केही जनप्रतिनिधिहरुको भनाई छ । कतिपय उपभोक्ता समितिले गरेको काम गुणस्तरीय नभएपछि जनप्रतिनिधिहरुले पुनः निर्माण समेत गर्न लगाएका छन् । नियमित गरिने अनुगमनका कारण उपभोक्ता समिति मार्फत गरिएका कामहरुमा केही गुणस्तरीयता आएको भए पनि सोचे अनुसारको काम नभएको स्वयम उपाध्यक्ष राईको टिप्पणी छ । स्थानीय सरकार सञ्चालन ऐन र कार्यविधिमा उल्लेख भएअनुसार अधिकांश योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने प्रावधान छ । त्यही नीतिको कारण पनि गाउँपालिकाको सोचेअनुसारको विकास नभएको बताईएको छ ।