डिएम चाम्लिङ राई
(खोटाङ) चिसापानी, १८ पौष– खोटाङको जन्तेढुंगा गाउँपालिकाले आन्तरिक र वाह्य पर्यटनको विकास गर्ने उद्देश्यले जन्तेढुंगा महोत्सव गर्ने तयारी थालेको छ । आगामी फाल्गुण÷चैत्र महिनामा महोत्सव गर्नेगरी पालिकाले तयारी थालेको हो । उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा जन्तेढुंगालाई विकास गराउनका लागि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राईले बताए ।
साविक दिप्लुङ गाविसमा अवस्थित उक्त जन्तेढुंगा हालको जन्तेढुंगा गाउँपालिका वडा नं. ७ मा अवस्थित छ । परापूर्व कालमा जन्तीहरु लोप भएपछि उक्त ढुंगाको नाम जन्तेढुंगा रहन गएको किंवदन्ती रही आएको छ । हाल दैनिक एक दर्जन स्थानीयहरु उक्त ठाउँमा घुम्न जाने गरेका छन् । यद्यपी महोत्सव गरिसकिएपछि दैनिक सयौंको संख्यामा आन्तरिक र वाह्य पर्यटकलाई भित्र्याउन सकिने उपाध्यक्ष बिमला राईको ठम्याई छ । उनले भनिन् –‘महोत्सव गराउने भनेर हामी लागिपरिरहेका छौं, महोत्सवपश्चात जन्तेढुंगाको पर्यटकीय विकास हुने अपेक्षा लिएका छौं ।’
उक्त स्थानमा आयोजना गर्न लागिएको महोत्सवको लागि गाउँपालिकाले १७ लाख रुपैया बजेट विनियोजन गरेको छ । गाउँपालिकालाई पर्यटनको माध्यमद्धारा अघि बढाउन महोत्सवले प्रभावकारी भूमिका खेल्ने उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले बताए । महोत्सवमा आन्तरिक उत्पादनहरु, खाद्यन्नवस्तु, जन्तेढुंगाको ऐतिहाँसिक पृष्ठभूमि र परिचय, विभिन्न झाँकी लगायतका प्रदर्शनी राखिने बताईएको छ ।