धरान। मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित पाँच जना रहेको इप्रका धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । मोबाइलको कल डिटेलका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
उनीहरूले धरान–१७ स्थित सर्दु खोलामा मङ्सिर २७ गते सुनसरी कोशी गाउँपालिका–६ का बेचन मियाको को २ प ७६२० नंको मोटरसाइकल, एक थान मोबाइल र रु एक हजार ३०० नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । भारत अररिया बस्मतियाका सबुर मन्सुरीले बोकेको एक थान मोबाइलसमेत लुटपाट गरेका उजुरी परेको छ । लुटपाटपछि उक्त मोबाइल धरान–१५ का दिपेश परियारलाई बेचेको पत्ता लागेपछि प्रहरीले पुस १६ गते परियारलाई नियन्त्रणमा लिएर चोरीको मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए।
चोरी गरेको मोटरसाइकलको पाटपुर्जा खोलेर धरान–१० का लडन अन्सारीको मोटरसाइकल ग्यारेजमा दिएका थिए । उक्त ग्यारेजबाट इञ्जिन बरामद गरिएको र अन्य पार्टपुर्जा भने धरान–१२ स्थित महेश विकको न्यू पाथीभरा वर्कसपमा फेला पारिएको उनले जानकारी दिए ।
पक्राउ परेकालाई आज अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।