काठमाडौँ। शाक्यमुनि गौतम बुद्धको ‘शान्ति, अहिंसा र प्रेम’ को सन्देशमा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर (साँचो माया सधैँ अमर)’ को ब्यानर, शीर्ष गीत तथा ट्रेलरको आज यहाँ प्रदर्शन गरियो । यो चलचित्रले सत्य कहिल्यै डग्दैन र जुन माया सत्य छ त्यो माया अमर रहन्छ भन्ने सन्देश दिन खोजेको चलचित्रका लेखक तथा निर्देशक गणेश बेलवासेले बताउनुभयो ।
“प्रेममा अहिलेका पुस्ता निकै अगाडि छन्, तर वास्तविक मायाभन्दा देखावटी मायाले बढी प्रश्रय पाएको भएर नै यो चलचित्र लेख्ने चेष्टा गरें”, लेखक बेलवासेले भन्नुभयो, “आफूले सयौँ चलचित्र हेरेर यस्तो खाले चलचित्र पनि बन्नुपर्छ भन्ने लागेर यसको निर्माण गरिएको छु ।” जसले मायामा अरुलाई प्रयोग मात्र गरेको छ, उसलाई यो चलचित्रले ज्ञान दिन खोजिएको छ ।
चलचित्रमा नायकका रुपमा राज थापा र नायिकाका रुपमा कृति गौतम हुनुहुन्छ । दुवै जना चलचित्र क्षेत्रमा पहिलोपटक देखिनुभएको छ । पुरानालाई भन्दा नयाँलाई नै किन प्राथमिकता दिनुभयो भन्ने राससको प्रश्नमा उहाँले पुराना कलाकारसँग पर्याप्त समय नहुने कारण पनि नयाँलाई प्राथमिकता दिइएको बताउनुभयो ।
पुरानालाई भन्दा नयाँलाई सिकाउन सजिलो र चलचित्रमा नयाँ कुरा पनि आउने उहाँको विश्वास छ ।
कान्तिपुर क्याम्पसमा चलचित्र निर्माणसम्बन्धी अध्ययनका क्रममा नै यस चलचित्रमा खेल्ने अवसर पाएको नायक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा लागि यो पहिलो अनुभव भए पनि यसले उत्कृष्ट प्रतिफल दिन्छ भन्ने आशा लिएको छु ।” यो चलचित्रले नेपाली समाजमा सकारात्मक सन्देश दिइने विश्वास उहाँको छ ।
आगामी चैत २२ गतेबाट देशभर प्रदर्शनीमा आउने यो चलचित्रको छायाङ्कनका क्रममा आफूले धेरै कुरा सिकेकोे अनुभव नायिका कृति गौतमको छ । “यो चलचित्रमा काम गर्न पाउनु मेरो सबैभन्दा ठूलो सफलता हो”, उहाँले भन्नुभयो । चलचित्रको छायाङ्कन काठमाडौँ, लुम्बिनी, दाङ र रोल्पा तथा छिमेकी राष्ट्र भारतको लखनउमा गरिएको छ । मनोरञ्जन र सन्देशमूलक यो चलचित्रको निर्माता गुह्ेश्वरी बेलवासे हुनुहुन्छ भने कार्यकारी निर्माता कपिलप्रसाद दवा हुनुहुन्छ ।
त्यस्तै सहायक निर्मातामा वसन्तराज भट्ट, वसन्त आचार्य, कुमुद पन्त र राजु केसी हुनुहुन्छ । चलचित्रको पटकथा तथा गीत लेखनको काम स्वयं निर्देशक बेलवासेले नै गर्नुभएको छ । चलचित्रको सम्पादनमा अनन्त घिमिरे हुनुहुन्छ । ‘प्रेमनाथ’ बोलको शीर्ष गीत पनि आजै प्रदर्शन गरिएको छ ।
चलचित्रले विश्वभर बुद्धको सन्देश फैलाउने विश्वास लिएको छ । झूठो माया गर्ने स्वयं दण्डित भएको प्रदर्शन गरिएको चलचित्रको ट्रेलरमा देखाइएको छ । चलचित्रको शीर्षक प्रेमनाथ कसरी रहन गयो, त्यो भने दर्शकले हेरिसकेपछि मात्र थाहा पाउने छन् ।