चाँडैनै गाउँपालिकाको समृद्ध आकार आउँछ –उपाध्यक्ष राई

Halesi
0 Shares

खोटाङको जन्तेढुंगा गाउँपालिका सदरमुकाम दिक्तेलबाट सुदुर दक्षिणी क्षेत्रमा ६ वटा वडा बनेर स्थापना भएको गाउँपालिका हो । साविकको चिसापानी, डम्बर्खुशिवालय, बोपुङ, काउले, देविस्थान र दिप्लुङ गाविसलाई मिलाएर यस गाउँपालिकाको स्थापना गरिएको हो । गाउँपालिकाको समृद्धिको लागि हालसम्म गरिएका र आगामी दिनहरुमा के कसरी काम गर्ने योजना छ ? यही विषयमा केन्द्रीत रहेर जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष बिमला राईसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

जननिर्वाचित भएपश्चात के कस्ता कामहरु गर्नुभएको छ ?
हामी निर्वाचित भएको डेढ वर्षको अवधिमा धेरै उपलब्धीमूलक काम गर्न सफल भएका छौं तर प्रचारप्रसारको अभावका कारण हाम्रो गतिविधिहरु ओझेलमा परेको हो । हामी प्रत्येक दिन योजना अनुगमन, दैनिक कामकाजमा व्यस्त छौं । गाउँपालिकाको समृद्धिको लागि हामी निर्वाचित जनप्रतिनिधि र कर्मचारी रातदिन खटिरहेका छौं ।

तपाईहरुको कार्यकालमा गाउँपालिकाको समृद्धीको लागि के कस्ता कार्य गर्ने सोचमा हुनुहुन्छ ?
हाम्रो कार्यकालमा गाउँपालिकालाई समृद्धितर्फ लैजानको लागि प्रत्येक वडा र पालिकाको कार्यालयसम्म जोड्ने सडक निर्माण गरिसकेका छौं भने छिमेकी जिल्ला र अन्तर गाउँपालिका सम्म जोड्ने सडकलाई प्राथमिकता दिएका छौं । विकासका सबै प्रक्रियामा छिर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन कार्यविधि नबुझेकै कारण विगतको वर्षहरुमा काम गर्न असहज भएको र सोचेअनुसारको काम गर्न नसकेकै हो तर आगामी वर्षहरुमा गाउँपालिकाको समृद्ध आकार आउनेछ भन्ने विश्वास लिएको छु । हाम्रो यस गाउँपालिकाले शिक्षा, कृषि, सञ्चार, विद्युत, सडकलाई मुख्य प्राथमिकता दिएर अघि बढिरहेका छौं । धेरै योजनाहरु उपभोक्ता समिति मार्फत गर्दा सोचेअनुसारको विकास हुन नसकेकै हो तर आगामी दिनमा त्यसलाई पनि सच्याउँदै अघि बढ्ने योजना रहेको छ ।

शिक्षा सुधारका लागि के कस्ता गतिविधि गर्नुभएको छ ?
विद्यालय सुधारका लागि गाउँपालिकाले विभिन्न शैक्षिक नीति ल्याएका छौं । केही बजेटको व्यवस्थापन पनि गरिएको छ । गुणस्तरीय शिक्षा सुधारका लागि गाउँपालिकाले शिक्षक र अभिभावकबीच समन्वय गर्दै समग्र शैक्षिक सुधारका गतिविधि गरिरहेका छौं ।

पर्यटनको क्षेत्रमा के गर्नुभएको छ ?
पर्यटनको हिसाबले हेर्दा जन्तेढुंगामा आन्तरिक र वाह्य पर्यटनलाई भित्र्याउने उद्देश्यले निकट भविष्यमानै महोत्सव गर्ने योजना बनाएका छौं । हालको जन्तेढुंगा गाउँपालिका वडा नं. ६ मा अवस्थित उक्त जन्तेढुंगामा महोत्सव गर्न गाउँपालिकाले यस वर्ष १७ लाख रुपैया बजेटको व्यवस्थापन गरेको छ । त्यस्तै पर्यटकीयस्थलहरु हुमापोखरी, छोङ्खाचण्डीथान लगायका स्थानहरुको स्तरोन्नती, संरक्षण र व्यवस्थित बनाउने चरणमा लागेका छौं ।

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?
समग्र गाउँपालिकाको विकासका लागि जननिर्वाचित प्रतिनिधि र कर्मचारीबीच समन्वयकारी भूमिकामा रहेर काम गरिरहेका छौं । धेरैभन्दा धेरै जनताको मन जित्ने उद्देश्य सहित कामलाई सहजता दिईएको छ । गाउँपालिकाको समग्र विकासका लागि कर्मचारीहरुको पनि ठूलो सहयोग रहेको छ । उहाँहरुको सहयोगप्रति हामी जनप्रतिनिधि आभारी छौं । -प्रस्तुती : डिएम चाम्लिङ/हरिवोल आचार्य

तपाईको प्रतिक्रिया