खोटाङको सुदुर दक्षिणी क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिका भौगोलिक रुपमा अत्यन्तै विकट गाउँपालिका हो । मौवाबोटे, पौवासेरा, फाक्टाङ, साउनेचउर, बराहपोखरी साविकको वडाहरु मिलेर बनेको स्थानीय तह बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरासँग गाउँपालिकाको विकास, गरिएका प्रयास र आगामी दिनमा गरिने कार्यबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
बराहपोखरी गाउँपालिकाबारे केही बताईदिनुस् न !
विकास निर्माणको दृष्टिकोणको हिसाबले हेर्दा अत्यन्तै पछाडि परिेको गाउँपालिका हो यो बराहपोखरी । खासमा भन्नुपर्दा यस गाउँपालिकालाई जनमतको भ¥याङको रुपमा लिने गरिएको छ । चुनावमा भोट माग्दा यहाँका सबै आवश्यकताहरु पुरा गरिदिन्छु । सडक निर्माण गरिदिन्छु, बिजुली बालिदिन्छु, खानेपानी ल्याईदिन्छु, सुविधासम्पन्न विद्यालय, स्वास्थ्यकेन्द्र खोलिदिन्छु भनेर भोट माग्ने अनि निर्वाचित भएपश्चात फर्किएर पनि नहेर्ने परिपाटीका कारण यस गाउँपालिका सबैभन्दा पछाडि परेको पालिका हो ।
तपाईहरु निर्वाचित भएपश्चात के कस्ता कार्यहरु गर्नुभएको छ ?
हामी निर्वाचित भईसकेपछि यहाँको विकास शुन्य लेभलबाट सुरु गरिएको हो । वाध्यता पनि त्यस्तै भयो । सडक थिएन, हामी निर्वाचित भईसकेपश्चात कम्तीमा पनि सबै वडासम्म पुग्ने मोटरबाटो निर्माण गर्न सफल भएका छौं । अहिले पौवासेरा बाहेकका सबै वडामा सडक पुगिसकेको छ । उक्त स्थानमा पनि चाँडै नै हामी सडक पु¥याउनेछौं । अहिलेको जनप्रतिनिधि अर्थात हामीहरु काँडैकाँडा (खुकुरीको धार)मा हिड्नुपर्ने अवस्थाका जनप्रतिनिधि हौं । जसोतसो हिड्ने प्रयास गरिरहेका छौं । हाम्रै पालामा गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा लागिरहेका छौं । सक्दै सकिएन भने पनि गुरुयोजना बनाएर छाड्नेछौं ताकि आउने जनप्रतिनिधिले त्यसैलाई निरन्तरता दियोस् । त्यसपश्चात गाउँपालिकाको समृद्धिको आकार आउनेछ ।
गाउँपालिकाको विकासको नयाँ योजना के छ ?
हाम्रो कार्यकालमा मुख्य गरी सबै वडामा १२ महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माण गर्ने योजना बनाएका छौं भने सञ्चार प्रविधिको क्षेत्रबाट सबैभन्दा पछाडि परेको यस पालिकाभरी टेलिफोन सञ्चालनको पहल गरिरहेका छौं त्यसका लागि गोकुलथुम्कामा टेलिफोनको रिपिटरटावर राख्ने योजना ल्याएका छौं ।
शैक्षिक गुणस्तरबारे के योजना बनाउनुभएको छ ?
यस गाउँपालिकामा शिक्षामा एकदमै ठूलो समस्या रहेको छ । एक विद्यार्थी अध्ययन गर्नका लागि घण्टौ हिडेर स्कूल पुग्नुपर्ने वाध्यता छ । विद्यालयहरु विकट अवस्थामा छ । राज्यको नीति अनुसार मर्ज गरेर पनि सञ्चालन गर्ने अवस्था छैन । गाउँपालिकाको तर्फबाट विद्यालयहरुमा आवास सहितको पठनपाठनको व्यवस्था मिलाउने वातावरण सृजना गर्न लागिरहेका छौं हेरौं कतिसम्म सफल भईन्छ । शिक्षाकै अर्को पाटोलाई हेर्दा हाल २०१७ सालमा एसएलसी गरेका शिक्षकहरु पनि कार्यरत छन् । उनिहरुले अहिलेको समयसापेक्ष, प्रविधियुक्त शिक्षा पठनपाठन गर्न पनि सक्दैनन र राज्यले पनि उनिहरुलाई हटाउने व्यवस्था गरेको छैन । अहिलेको शिक्षा नीतिअनुसार स्थानीय तहलाई सबै अधिकार पनि दिएको छैन । बाझिएको शिक्षा नीतिका कारण गुणस्तरीय शिक्षा हाँसिल गर्न सम्भव छैन । अहिलेको शिक्षा नीतिले पुराना शिक्षकलाई हटाउन पनि सकिदैन र त्यस्ता शिक्षकले समयसापेक्ष पठनपाठन पनि गराउन सक्दैन । शिक्षामा यस पालिकामा मात्र हैन अन्यत्र पनि समस्याको विषय बनेको छ ।
विद्यालय शिक्षा सुधारको लागि के गर्ने योजना छ ?
शिक्षकलाई नियमितता गराउने कुरामा गाउँपालिका लागिरहेको छ । यसैवर्षभित्र प्रत्येक माध्यमिक तहहरुमा इ–हाजीरिको व्यवस्था सम्म गरिनेछ । नियमित अनुगमनको पाटो त छँदैछ तर पनि विद्युतको अभावका कारण प्रत्येक विद्यालयमा इहाजीरि सँगै सीसी क्यामेरा जडानको काम अन्यौल छ । गाउँपालिकाको तर्फबाट योजना बनाईएको भए पनि विद्युत अभावका कारण यो सब गर्न असहज भएको छ ।
विद्युत कहिले बल्ला ?
विद्युतको क्षेत्रमा पनि पहल गरिरहेका छौं । गाउँपालिकाको तर्फबाट र केन्द्रीय विद्युत प्राधिकरणको तर्फबाट पनि केही पहलहरु भएका गरिएका छन् । हाम्रै कार्यकालमा सबै वडा र पालिकामा विद्युत विस्तार गरिसक्ने योजना राखेका छौं ।
कर्मचारी र जनप्रतिनिधिले कामै गरेन भन्ने गुनासो छ नि ?
समग्रमा गाउँपालिका, निर्वाचित जनप्रतिनिधि, कर्मचारीहरुले निरन्तर रातदिन नभनी खटेर काम गरिरहेका छौं । प्रत्येक दिन नियमित काममै व्यस्त रहन्छौं तर काम धेरै भए पनि बाहिर नदेखिएको मात्र हो । प्रचारप्रसारको अभाव, इमेलइन्टरनेट र टेलिफोन सञ्चालन नभएका कारण यस क्षेत्रको विकास सार्वजनिक हुन नसकेको हो ।
पर्यटनको क्षेत्रमा के गर्दैहुनुहुन्छ ?
पर्यटनको हिसाबले हेर्दा, बराहपोखरीलाई व्यवस्थित गरी आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउँदै गाउँपालिकाको समृद्धितर्फ लैजाने योजना रहेको छ भने नजिकै रहेको सुन्तलेको सुनापातल डाँडालाई पनि विकसित गर्न गाउँपालिकाले विशेष योजना बनाएको छ ।
गाउँपालिकाको आफ्नै भवन कहिले बनाउनुहुन्छ ?
भौतिक संरचना अन्तर्गत हाल गाउँपालिकाले अस्थायी रुपमा विद्यालयको भवनबाट सेवा प्रवाह गरिरहेको छ । यही आर्थिक वर्षभित्र आफ्नै भवन निर्माण गरिसक्ने गरी बजेट विनियोजन गरिएको छ । स्थानीय समुदायले दिएको ३७ रोपनी जग्गा गाउँपालिकाको नाममा आईसकेको छ, अब उक्त भवन निर्माणको लागि कार्यमितिको वैठकबाट निर्णय गरेर टेण्डर मार्फत वा उपभोक्ता समिति मार्फत निर्माण गर्ने भन्ने विषय टुङ्गो लगाउने छौं । समग्र गाउँपालिकाको विकासका लागि हामी निरन्तर लागिरहेका छौं र हाम्रै कार्यकालमा गाउँपालिकाको केही आकार भने अवश्य आउनेछ । धन्यवाद । प्रस्तुती : डिएम चाम्लिङ राई/हरिवोल आचार्य (2075-09-19)