जब श्रीमान्ले झोलाबाट बोतल झिकेर ससुरालीमै पत्नीमाथि एसिड गरे…

Halesi
0 Shares

भरतपुर, एकाएक माइतीमा श्रीमान् आएको देखेपछि अश्मी रुम्बा खुसी भइन् । कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने पनि लाग्यो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले ।

तर कोठामा एक्लै भएको बेला श्रीमान्ले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन् । एसिड शब्द सुनेकी मात्र के थिइन्, अश्मीले घोप्टो परेर अनुहार जोगाइन् । बाक्लो कपडाका कारण एसिडले उनको शरीरमा असर गर्न भने पाएन ।

घटनामा उनले लगाएको कपडा भने जल्यो । एसिड प्रहारसँगै अश्मी चिच्याइन् । सुनेर छिनमै बहिनीहरू कोठामा पुगे । र पुगेर भिनाजुको कुकृत्य रोके । त्यसले पनि अश्मीलाई एसिड लाग्न पाएन । अश्मीको अनुहारमा छिटफुट लागेको एसिड पानीले पखाले । ‘ श्रीमान् सुध्रिएछन्, त्यसैले त लिन आए भन्दै सुरुमा खुसी भएकी थिएँ’, अश्मीले भनिन्, ‘पछि ममाथि एसिड पो प्रहार गरे, धन्न घोप्टो परेर अनुहार जोगाएँ ।’

भदौदेखि माइतीमै बस्दै आएकी अश्मी विरेनले माफी मागेपछि पुस १ गते घर गएकी थिइन् । तर त्यसपछि पनि श्रीमान्को हिंसा नघटेपछि उनी माइतीमै फर्किएकी थिइन् । विरेनले तीन दिनअघि अश्मीका मामालाई फोन गरेर एसिड प्रहारको धम्की दिएका थिए । ‘फेसबुक चलाएको कुराले शंका मात्रै गथ्र्यो’, अश्मीले भनिन्, ‘सधैं रक्सी खाएर कुटपिट गर्न थालेपछि माइत बस्दा पनि फोन गरेर धम्की दिएर हैरान पारेको थियो ।’

पाँच वर्षअघि विवाह गर्दा अश्मी १७ वर्षकी थिइन् । विरेन भने ४२ वर्षका थिए । त्यति बेला उमेरको भिन्नताको प्रवाह नगरी आफ्नो खुसीले विवाह गरिन् । तर उनै श्रीमान्ले बुधबार एसिड प्रहार गरे । उनीहरूबीच सामाजिक सञ्जालको विषयले फाटो आएको हो ।

पोखरा लेखनाथ महानगरपाकिला-२९ आदर्शनगरका विरेन गुरुङले सुसुराली पुगेर श्रीमतीलाई एसिड प्रहार गरेका हुन् । पोखराबाटै गाडी रिजर्भ गरेर साथीहरूसहित चितवनको भरतपुर महानगरपालिका-२४ ध्रुवस्थित सुसुराली पुगेका थिए । अश्मीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेकाले शुक्रबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ ।

आक्रमण गरेर भाग्न खोजेका विरेनलाई प्रहरीले पक्राउ गरेको हो । नारायणगढको लायन्सचोकबाट समातिएका उनीसँग पोखरा महानगर-१० का ३९ वर्षीय हेम थापा, हेटौंडा-१० का २४ वर्षीय विवेक गुरूङ र पोखरा-२९ बस्ने निरेन गुरूङ पक्राउ परेका छन् । पोखराबाट ग१य ५४३ नम्बरको गाडीसहित उनीहरू समातिएका हुन् । उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।अन्नपुर्णबाट

तपाईको प्रतिक्रिया