अन्तरमाविस्तरीय छात्र फुटबल प्रतियोगिता शुरु, एघार जना उत्कृष्ट खेलाडी छात्रबृत्तिका लागि छनौट गरिने

Halesi
0 Shares

खोटाङ, २० पुस । उत्कृष्ट खेलाडी छनौटका लागि खोटाङको दिक्तेलमा अन्तर माविस्तरीय छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।
जिल्लामा व्यावसायिक खेलाडी उत्पादन गर्दै शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले अन्तर माविस्तरीय छात्र फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको पहिलो दिनको चार खेलमध्ये चम्पावती मावि बुइपालाई शुन्य का बिरुद्ध १ गोल गर्दै ज्योती मावि जालपा र सावित्रा मावि बाम्राङलाई १ का बिरुद्ध ३ गोल गर्दै विद्योद्धय मावि दोर्पाचिउरीडाँडाले आफ्नो स्थान सुरक्षित गरेको छ । यस्तै, हिलसाईड स्याम्पल एकेडेमी दिक्तेललाई शुन्यका बिरुद्ध १ गोल गर्दै सरस्वती मावि दिक्तेल र कृष्ण मावि टेम्मालाई शुन्यका बिरुद्ध ६ गोल गर्दै कालिका मावि नेर्पा विजयी भएको छ ।
पहिलो चरणको खेल अन्तरगत शनिबार बिहान ७ बजेपछि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुल दिक्तेल र कालिका मावि खार्मीबीच पहिलो खेल हुने आयोजकले जनाएको छ । पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो र दोस्रो स्थान प्राप्त गर्ने समूहलाई क्रमशः नगद रु. १५ हजार र रु. दश हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैंजूले बताउनुभयो ।
प्रतियोगिताका उत्कृष्ट ११ जना खेलाडीलाई नवप्रभात मावि र प्रिमियर कलेज काठमाडौंले कक्षा ११ र १२ मा अध्ययनका लागि छात्रावृत्ति दिने एकेडेमीका अध्यक्ष सैंजुले जानकारी दिनुभयो । नभ प्रभातले ६ जना र प्रिमियरले ५ जना खेलाडीलाई अध्ययनमा लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने जनाइएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताको पुरस्कार भने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाका १८ माविका १८ समूहले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया