जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास

Halesi
0 Shares

काठमाडौँ। सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गरेका छन्।

रापती समाज काठमाडौँको १२ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले पूर्व बर्दघाटदेखि पश्चिम राजापुरका जनतालाई न्याय हुने गरी प्रदेशसभाले राजधानी तोक्नुपर्ने बताए । उनले भने, “प्रदेशसभाले प्रदेश नं ५ का जनताको सुविधालाई ध्यानमा राख्दै उचित निर्णय लिनेछ ।” साहित्यिक, साङ्गीतिक र शैक्षिक रुपमा राप्तीका जिल्ला निकै अगाडि रहेको बताउँदै उहाँले आफ्ना क्षमता पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले राप्ती क्षेत्रका जनताको सहयोगका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको राजधानी दाङ बनाउन सक्दो प्रयत्न गर्ने बताए ।

सो अवसरमा समाजको विभिन्न तहतप्कामा बसेर सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सामजिक अभिनन्दन गरिएको थियो । सभामुख महराले राष्ट्रियसभा सदस्य वली, संविधानविद् डा भीमार्जुन आचार्य, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतलाई सम्मान गरेका थिए । सो क्रममा समाज र बालाजुस्थित कोहिनुर बोर्डिङ स्कुलबीच प्रत्येक शैक्षिक सत्रमा राप्तीका दुई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

तपाईको प्रतिक्रिया