डिएम चाम्लिङ राई/
खोटाङ, २४ पौष–विद्युत उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै खोटाङको खोटेहाङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको घुम्ती काउण्टर सञ्चालनमा ल्याईएको छ । गाउँपालिकाको पहलमा उक्त स्थानमा घुम्ती काउण्टर स्थापना गरिएको गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिए ।
जिल्लाको दक्षिणी क्षेत्रका लिच्कीराम्चे, सिम्पानी, बराहापोखरी, इन्द्रेणीपोखरी, चिप्रिङ, बडकादियोले लगायतका स्थानीयवासीहरु विद्युतको महशुल बुझाउन यसअघि दिक्तेलसम्म धाउने गरेका थिए । न्यूनतम शुल्क रु ८० बुझाउनका लागि प्रत्येक महिना २ हजार भन्दा बढी खर्च गरेर दिक्तेल आउनुपर्ने समस्या घुम्ती काउण्टर सञ्चालन सँगै हटेर गएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष प्रदिप राईले उद्घाटन गरेको घुम्ती काउण्ट खोटाङबजारमा हरेक महिनाको २३, २४ र २५ गते सञ्चालन हुनेछ । यस काउण्टरबाट त्यसक्षेत्रका हजारौं सेवाग्राहीलाई सहज भएको बताईएको छ । काउण्टर स्थापनाहुनुपूर्व स्थानीयवासीले पटक पटक विद्युतको काउण्टर स्थापनाको माग गर्दै आएका थिए । आप्नै क्षेत्रमा विद्युत काउण्टर स्थापना भएपछि स्थानीयवासी पनि हर्षित भएका छन् ।