डिएम चाम्लिङ राई/
खोटाङ, २४ पौष–जिल्लाको साकेला गाउँपालिका वडा नं. ३ स्थित खिदिमामा केन्द्रीय विद्युत विस्तारको काम तिव्र गतिमा अघि बढेको छ । विद्युतको केन्द्रीय लाईन हालसम्म पनि विस्तार नभएको खिदिमाको लागि गतवर्ष गाउँपालिकाले २१ लाख रुपैया बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट १ सय १६ वटा विद्युत पोल खरिद गरिएको वडाध्यक्ष मणीकुमार राईले जानकारी दिए ।
त्यस्तै यो वर्ष गाउँपालिकाले १५ लाख रुपैया बजेट विनियोजन गरेको छ । सोही वडाको बिजुली विस्तारका लागि केन्द्रीय विद्युत प्राधिकरणको तर्फबाट १ करोड ७० लाख रुपैया विनियोजन भएको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का (झङ्कार)ले जानकारी दिए । यसै आर्थिक वर्षभित्र खिदिमामा बत्ति बालिसक्नेगरी काम भईरहेको बताईएको छ । बत्ति बलेपछि त्यसभेगका हजारौं सर्वसाधारण लाभान्वित हुनेछन् ।
यता गाउँपालिकाले पनि प्रत्येक वडामा आगामी वर्षभित्र बत्ति बाल्ने योजना बनाएको छ । साविकको च्यानडाँडा, रतन्छा, खिदिमा र मात्तिम गाविस मिलेर बनेको साकेला गाउँपालिकामा ५ वटा वडा रहेको छ । सबै वडामा बत्ति बाल्नेगरी काम भईरहेको अध्यक्ष खड्काको भनाईछ । जसका लागि केन्द्रीय विद्युत प्राधिकरणले एकमुष्ट ८ करोड १५ लाख रुपैया बजेट गाउँपालिकालाई दिएको छ ।