धनुषा। नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा आज महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई महासङ्घ प्रदेश नं २ का महासचिव किरणकुमार कर्णले उक्त मस्यौदा हस्तान्तरण गरेको हो । ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता, नेपालको संविधानको व्यवस्था र नेपालमा कार्यान्वयनमा रहेका तीन तहका सरकारको मूल मर्मअनुरुप यो मस्यौदा महासङ्घ केन्द्रले तयार गरेको महासचिव कर्णले जानकारी दिए । स्वतन्त्र मिडियामाथि राज्यका कुनै पनि तहका निकायबाट हस्तक्षेप हुनु हुँदैन भन्ने मान्यताअनुरुप मिडियासम्बन्धी स्वतन्त्र र स्वायत्त संरचनाको कल्पना मस्यौदामा गरिएको छ ।
सो अवसरमा मन्त्री यादवले प्रदेश आमसञ्चार ऐनको मस्यौदा सरकारले सकारात्मकरुपमा लिएको बताउँदै पत्रकारको चाहना बमोजिम छिट्टै नै एकीकृत सूचना तथा सञ्चार विधेयक आउने प्रतिबद्धता व्यक्त गरे।
तेस्रो पूर्ण बैठक
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ को प्रादेशिक कार्य समितिको तेस्रो पूर्ण बैठक धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित हारसरमा सम्पन्न भएको छ ।
महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न बैठकले महासङ्घ प्रदेश नं २ को प्रादेशिक समितिको कार्यालय एक साताभित्रमा व्यवस्थापन गर्नका लागि महासचिव, कोषाध्यक्ष र जनकपुरमा रहेका पदाधिकारी एवं सदस्यहरुलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी बैठकले प्रदेश नं २ मा प्रेसलाई हतोत्साही गर्ने गरी विभिन्न घटनाक्रम बढ्दै गइरहेको ठहर गर्दै प्रेस स्वतन्त्रताका विरुद्ध हुने कुनै पनि कामकारवाही र गलत कदमको सशक्त विरुद्ध गर्ने निर्णय गरेको छ ।