डिएम चाम्लिङ राई/
खोटाङ, २६ पौष–बराहपोखरी गाउँपालिकाले २० वर्षे आवधिक गुरुयोजना बनाउन सुरु गरेको छ । गुरुयोजना अन्तर्गत गाउँपालिकाले पहिलो चरणमा कार्यशाला गोष्ठि सम्पन्न गरिसकेको छ भने पाश्र्वचित्र निर्माणका लागि पारिवारिक सेवा अन्तर्गत (हाउसहोल्ड सर्भिस) गर्नुका साथै गुरुयोजना अन्तर्गत अडियो सूचना बोर्ड स्थापना र मोवाईल एप्स समेत निर्माण गरेको छ ।
गाउँपालिकालाई समृद्ध बनाउनका लागि पालिकाले विविध गतिविधि गर्नुका साथै सामाजिक, भौतिक गतिविधिलाई पनि तिव्रता दिएको छ । यसैबीच गाउँपालिकाले सुरु गरेको आवधिक योजनाको प्रारम्भिक प्रतिवेदनमाथि दुईदिने अन्तरक्रिया कार्यक्रम गरिने गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले जानकारी दिईन् । आगामी पौष २८ र २९ गते उदयपुरको गाईघाटमा अन्तरक्रियाको आयोजना गरिएको मगरको भनाई छ । यही प्रतिवेदनलाई आधार मानेर २० वर्षे गुरुयोजना निर्माण गरिने बताईएको छ ।
यसैबीच, गाउँपालिकाले सुरु गरेको गुरुयोजनाबारे विभिन्न व्यक्तिहरुले गाउँपालिकालाई धन्यवाद दिएका छन् । प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईले गाउँपालिकाले गरेको काम महत्वपूर्ण भएको भन्दै धन्यवाद दिएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले भनेका छन् –‘गाउँपालिकाको पाश्र्वचित्र निर्माणले आफ्नो ऐना देखिने भन्दै गुरुयोजना निर्माण आगामी वार्षिक तथा पञ्चवर्षीय नीति योजना तथा कार्यत्रम छनौट र तर्जुमा कार्यमा कोशेढुंगा बन्नेछ ।’