गाउँपालिका समृद्धितर्फ अघि बढिसक्यो –‘उपाध्यक्ष मगर’

Halesi
0 Shares

खोटाङ जिल्लाको अति दूर्गम मानिएको बराहपोखरी गाउँपालिका सदरमुकाम दिक्तेलदेखि सुदुर दक्षिणी क्षेत्रमा पर्ने एक स्थानीय तह हो । विकास र समृद्धिको हिसाबले एकदमै पछि परेको यस गाउँपालिका अहिले विकासको गतिमा लम्कदै गरेको गाउँपालिका हो । विकासका सबै पूर्वाधारबाट पछि परेको यस गाउँपालिकामा आफ्नै भवन नहुँदा विद्यालयको एउटा टहरोबाट सम्पूर्ण सेवा प्रवाह हुँदै आएको छ । सडक, विद्युत, खानेपानी, शिक्षा लगायतका पूर्वाधारको पहुँचबाट एकदमै बाहिर रहेको यस गाउँपालिका अन्तर्गतका सबै वडामा पहिला विकासको कुनै पनि गतिविधि भएनन् । यद्यपी स्थानीय तह गठन भएपश्चात जननिर्वाचित प्रतिनिधिहरुमार्फत केही विकासको पहल भएको पाइन्छ । चाँडै नै विकासको अनुभूत हुने सम्भावना रहेको बराहपोखरी गाउँपालिकाको समग्र विकासबारे कुराकानीका लागि आज हामी गाउँपालिका उपाध्यक्ष गोमा मगरसँग संक्षिप्तमा कुराकानी गरिरहेका छौं । प्रस्तुत छ, पत्रकार डिएम चाम्लिङ र हरिबोल आचार्यसँगको कुराकानी आजको यस श्रृङ्खलामा ।
उपाध्यक्ष ज्यू, स्वागत छ हाम्रो यस हलेसी खबर अनलाईनमा ।
धन्यवाद । यो अवसर प्रदान गर्नुभएकोमा तपाईहरु सम्पूर्ण र अनलाईन परिवारलाई ।

तपाईहरु निर्वाचित भईसकेपश्चात यस गाउँपालिकामा भएका विकासका गतिविधिबारे बताईदिनुस् न ।
हामी निर्वाचित भएको डेढ वर्षभन्दा बढी अवधि भईसकेको छ । यस अवधिमा हामी भौतिक निर्माणको कामलाई बढी प्राथमिकता दिएर अघि बढिरहेका छौं । यसअवधिमा हामीले गाउँपालिकाको सडक विस्तार, विद्युत, खानेपानीको क्षेत्रमा बढी लगानी गरेर काम गरिरहेका छौं भने प्रत्येक वडा कार्यालयदेखि पालिकासम्म जोड्ने सडकलाई नै प्राथमिकता दिएर बजेट विनियोजन गरेका छौं । यद्यपी पौवासेरा वडा कार्यालय सम्म जोड्ने सडक यो वर्ष पनि पुरा गर्न सकेका छैनौ । आगामी वर्षभित्रमा सबै वडाकार्यालय सम्म सडक विस्तार गरिसक्ने र १२ महिनासम्म सडक सञ्चालन गर्नेसम्मको बाटो विस्तार गरिसक्ने अभियानमा छौं ।

मुख्य सडक अन्तर्गत के के काम गर्नुभएको छ ?
मुख्य सडक अन्तर्गत हामीले तराईसँग जोड्ने धाप्लाङ–चिसापानी–वंशिलाघाट सडकलाई प्राथमिकता दिएर लागिरहेका छौं भने यस सडकको डिपिआर तयार पनि भईरहेको छ । त्यस्तै धाप्लाङ–धर्तुङ (१६ किमी) सडकको पनि डिपिआरको लागि सर्वे गरिसकेका छौं । यी सडकहरुको लागि गाउँपालिकाले बजेट व्यवस्थापन गरेसँगै केन्द्र र प्रदेशसँग पनि पहल गरिरहेका छौं । यो सडकहरुभनेको हाम्रो गाउँपालिकाको गौरवको योजना भएकाले यसका लागि पनि हामी पहल गरिरेका छौं ।

विद्युत कहिले सम्म बल्ला ?
साविकको बराहपोखरी, धर्तुङ, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गाविस मिलेर बनेको यस गाउँपालिकाभित्रका प्रत्येक वडा र वस्तीहरुमा केन्द्रीय विद्युत विस्तारका लागि पहल गरिरहेका छौं । गाउँसभाले विद्युत विस्तारका लागि कार्ययोजना बनाएर पास गरिसकेको र हामी पनि विद्युतको केन्द्रीय कार्यालय सँगै सम्वन्धीत निकायसँग पनि लागि परिरहेका छौं । हाम्रो कार्यकालभरी पालिकाका प्रत्येक वडासम्म विद्युत विस्तार गर्ने चरणमा छौं । अवश्य पनि हाम्रै कार्यकालभित्र विद्युत विस्तार गरी पालिकाका प्रत्येक घरधुरीमा उज्यालो दिने प्रयत्नमा लागिरहेका छौं ।

गाउँपालिकाको समृद्धिको लागि के गरिरहनुभएको छ ?
अवश्य पनि हामी जननिर्वाचित प्रतिनिधिहरु, जनताको भावना अनुसार कार्य गरिरहेका छौं । चुनावमा हामीले दिएका आश्वासन पुरा गर्न यतिबेला दिनरात खटिरहेका छौं । हाम्रै पालामा गाउँपालिका समृद्ध भएको देखाउन चाहान्छौं त्यसका लागि हामीले २० वर्षे आवधिक गुरुयोजना बनाएर गाउँपालिकाको विकास गर्न सकिन्छ कि भनेर लागिरहेका छौं । यसअवधिमा हामीले बनाएको गुरुयोजनामा टेकेर समृद्ध गाउँपालिकाको लागि सडक, विद्युत, सञ्चार, शिक्षा र खानेपानी नै प्रमुख हुन् । हाम्रो कार्यकालभरी गाउँपालिकाभरीका योजना साना ठूला योजनाको डिपिआर तयार गरेर काम प्रारम्भ गर्नेछौं । किनकी हामीले सम्पन्न गर्न नसकेका योजनाहरुलाई आगामी आउने जनप्रतिनिधिहरुले निरन्तरता दिनेछन् । त्यसकारण पनि हामीले सर्वप्रथम सबै योजनाको डिपिआर गर्ने रणनीतिक योजना बनाएका छौं । त्यस्तै भौगोलिक वस्तुस्थिती र योजनाहरुको लागत स्टीमेट समेत तयार गरिसक्नेछौं यति भईसकेपश्चात हामी नै पुन निर्वाचित भए पनि अथवा नभए पनि यही योजनालाई आगामी वर्षहरुमा निरन्तरता दिनुपर्नेभएकाले हामीले तयार गरेको डिपिआरअनुसार काम हुनेभए पछि अवश्यपनि गाउँपालिका समृद्धितर्फ जानेछ भन्ने विश्वास हामीले लिएका छौं ।

पर्यटनको क्षेत्रमा के कस्ता कामहरु गर्नुभएको छ ?
अवश्य पनि, पर्यटन भनेको गाउँपालिकालाई चिनाउने र आर्थिक समृद्धितर्फ लैजाने प्रमुख श्रोत र गन्तव्य हो । तसर्थ हाम्रो गाउँपालिकालाई पनि पर्यटनको क्षेत्रबाट चिनाउने प्रशस्त सम्भावनाहरु रहेका छन् जसलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाईरहेको छ । गाउँपालिकाकै नामबाट परिचित प्राकृतिक बराहपोखरी तालको संरक्षण गर्न सक्यो भने यस गाउँपालिका आर्थिक समृद्धिको बाटोतर्फ लम्कन्छ । हालको वडा नं. १ बराहपोखरीमा अवस्थित उक्त तालको संरक्षण, प्रवद्र्धनका लागि केन्द्रबाट बजेट आउनुका साथै गतवर्ष पनि संसदीय कोषबाट बजेट विनियोजन भएर केही काम भएको छ । गाउँपालिकाले पनि उक्त पोखरीको संरक्षणका लागि केही बजेटको व्यवस्थापन गरेको छ । संसारमै दूर्लभ रहेको पोखरीको रातोमाछा पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण वस्तु हो । धार्मिक र ए्ेतिहाँसिक पृष्ठभूमिको हिसाबले पनि बराहपोखरीको छुट्टै महत्व रहेकाले यसको संरक्षण र संवद्र्धन गर्न सके ठूलै उपलब्धी हुनेकुरामा हामी विश्वस्त छौं । त्यस्तै यस पालिकाभित्र रहेको गोकुलथुम्का, सुनापातल डाँडा, वंशीलाघाट, धाप्लाङघाटलाई पनि पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले उच्च प्राथमिकता दिदै आईरहेको छ ।

शैक्षिक सुधारका लागि के कस्ता गतिविधि गरिरहनुभएको छ ?
अवश्यपनि शैक्षिक सुधारका लागि गाउँपालिकाले आफ्नो तर्फबाट केही सुधारात्मक कामहरु गरिरहेका छौं यद्यपी केन्द्रीय शिक्षानीतिनै दुविधामा रहेकाले यस क्षेत्रमा काम गर्न असहज परिस्थिती आईपरेको छ । शिक्षालाई गुणस्तरीय बनाउनको लागि भनेरै गाउँपालिकाले यस आर्थिक वर्षमा केही बजेटको पनि व्यवस्थापन गरेको छ । शिक्षक नियमित विद्यालय आएनआएको, पठनपाठन गराएनगराएको विषयमा जननिर्वाचित प्रतिनिधिहरुबाट बेलाबेलामा अनुगमन गरिरहेका छौं । व्यवहारिक शिक्षालाई प्राथमिकता दिदै गाउँपालिकाको तर्फबाट छुट्टै शिक्षानीति अपनाएर शिक्षकहरुको नियमितता, हाजिरी प्रमाणीत, शिक्षकहरुबाट भएका कमीकमजोरीको हकमा कारवाही गर्ने खालका नीति बनाउने तयारीमा छौं । यहाँको प्रमुख समस्या भनेको निर्वाचित प्रतिनिधिहरुलाई शिक्षकहरुले विश्वास नगर्ने र नपत्याउने समस्या रहेको छ त्यसलाई समन्वय गर्दै शिक्षक, अभिभावक र विद्यार्थी तथा जनप्रतिनिधिबीचको खाडललाई पुर्ने खालको नीति अपनाउने तयारीमा छौं । शैक्षिकस्थिती सुधार गर्नु हाम्रो महत्वपूर्ण काम भएको हिसाबले हामी शिक्षा क्षेत्रमा पनि जोडतोडका साथ लागिपरिरहेका छौं ।

भौतिक रुपमा सबैभन्दा पछि रहेको यस गाउँपालिकाको भवन कहिले सम्म तयार हुन्छ ?
अन्य स्थानीय तहलाई हेर्दा सबै व्यवस्थित भएको देख्छौं तर हामी निर्वाचित भएर यतिका समय गुजारी सकेका छौं तर पनि हामीले आफ्नै भवन तयार गर्न सकेका छौंैनौं । अहिले पनि दुःखका साथ विद्यालयको एउटा भवनबाट सेवाप्रवाह गरिरहनुपर्दा अत्यन्तै दुःख लाग्छ । हामीले गर्न नखोजेका हैनौं गतवर्ष केन्द्र र प्रदेश सरकारको ऐन र नीतिलाई पछ्याउँदै हामी यसबाट पछि प¥यौं । तर यस वर्ष हामीले आफ्नै भवन निर्माणका लागि भनेर केही बजेटको व्यवस्था गरेका छौं । स्थानीय समुदायले पनि निःशुल्क ३७ रोपनी जग्गा प्रदान गर्नुभएको छ । गाउँपालिकाले पनि ८० लाख बजेट भवन निर्माणका लागि भनेर विनियोजन गरेका छौं । अबको छ महिनाभित्र तपाईहरुले हाम्रो आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको भेट्नुहुनेछ । चाँडै नै कार्यसमितिको वैठकले भवन निर्माणको लागि सूचना आह्वान गर्ने तयारी गरेका छौं । धन्यवाद ।

तपाईको प्रतिक्रिया