खोटाङ – खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ को पालिका स्तरिय प्रथम अडिसन सम्पन्न भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संबद्र्धन गर्दै गीत संगीतको व्यवसायीक बिकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा पुस ९ गते साकेला गाउँपालिकाबाट सुरु गरिएको हलेसी साईनो स्टारको स्तरिय प्रथम अडिसन शनिबार दिक्तेलमा आएर टुंगिएको हो । जिल्लाका दश वटै स्थानीय तहका बिभिन्न स्थानमा सञ्चालन गरिएको हलेसी साईनो स्टारको पालिका स्तरिय प्रथम अडिसनबाट ११८ प्रतियोगी छानिएको आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
हलेसी साईनो स्टारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबाट २४ जना, बुईपाबाट १३ जना, साकेला गाउँपालिकाबाट १० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट ८ जना, खोटेहाङ गाउँपालिकाबाट ९ जना, बराहपोखरी गाउँपालिकाबाट १२ जना, जन्तेढुंगा गाउँपालिकाबाट ७ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ११ जना लगायतका प्रतियोगी छानिएका साईनो कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए। जिल्ला स्तरिय दोश्रो अडिसन आगामी माघ ९ गतेदेखि सुरु हुने छ ।
हलेसी साईनो स्टारका प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँकासाथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।