भक्तपुर। प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गरेका छन् । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उनले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताए ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख गर्दै यो नगरलाई धार्मिक परिपथ एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए ।
“यातायातको सहज पहुँच हुनेगरी सडक विस्तार गर्ने, झोलुङ्गे पुलदेखि सुरुङ मार्ग एंव मानव निर्मित तलाउसम्मको निर्माण गर्ने र अन्तर्राष्ट्रिय रङ्गशालादेखि प्राणी उद्यानसम्म सूर्यविनायकमै निर्माण हुन लागेकाले यस क्षेत्रको मुहार चाँडै फेरिन्छ”, उनले भने ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले ‘समृद्ध सूर्यविनायक, सुखी नगरवासीको’ नारा सार्वजनिक गर्दै नगरपालिकाको तेस्रो नगर सभामा तय गरिएको ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने दृष्टिलाई साकार बनाउन आवश्यक रणनीतिक योजना सार्वजनिक गरे।
उहाँले पूर्वाधारको विकासमार्फत पहुँच अभिवृद्धि, सामाजिक विकासमार्फत समाजको रुपान्तरण, आर्थिक समृद्धि, वातारवण संरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकास, प्रभावकारी न्याय सम्पादन, आन्तरिक राजश्वको सुदृढीकरणलगायत रणनीति नगरपालिकाले अवलम्बन गरेको जानकारी दिए ।
भक्तपुर युवा सम्मेलन सम्पन्न
भक्तपुर युवाका हक, अधिकार र अवसरका बारेमा विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ आज सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषद्, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको सहकार्यमा युवाका साथ साथ आवाज नेपालले आयोजना गरेको सो दुईदिने सम्मेलनले तीनै तहका सरकारले देशको युवा जनशक्तिलाई स्वदेशमा नै उत्पादनमूलक कार्यमा संलग्न हुन अवसर र वातावरण सृजना गनुपर्ने माग जारी घोषणापत्रमा उल्लेख छ ।
यसैगरी घोषणापत्रमा युवालाई व्यावसायिक तथा प्राविधिक सीपमूलक तालीम प्रदान गर्र्नुपर्ने, स्थानीयस्तरमा भएका स्रोतसाधन अनुकूल उद्योग स्थापना गरी युवा स्वरोजगार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने, युवा उद्यमीका लागि सरकारले ल्याएको सहुलियतपूर्ण ऋणकर्जा एवं सुविधा लिने प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउनुपर्ने, स्थानीय सरकारले अनिवार्य रुपमा युवा सहभागितामा योजना निर्माण तथा बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।
युवा नेतृत्व सङ्घसंस्थाहरुसँग साझेदारी गर्दै रणनीति कार्यक्रम ल्याउनुपर्ने, वैदेशिक रोजगारीबाट सिकेका सीप र सिर्जनालाई आफ्नै देश विकासमा लगाउन विशेष आर्थिक नीति ल्याउनुपर्नेलगायत बुँदाहरु घोषणापत्रमा उल्लेख भएको युवाका साथ साथ आवाज नेपालका संस्थापक दीपेश बिसुङ्खेले जानकारी दिए ।
सम्मेलनमा भक्तपुरका चारवटै नगरपालिकाबाट १५० भन्दा बढी युवाको सहभागिता रहेको संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिए । कार्यक्रममा प्रतिनिधि सभाको सांसद महेश बस्नेतले रोजगारी माग्नेभन्दा आफैं उद्यमी बनेर रोजगारी दिने निकायका रुपमा युवा अगाडि बढ्नुपर्ने बताए ।