सप्तरी। आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले आइतबार एक युवकलाई पाँच वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलासले राजगढ गाउँपालिका–४ कमलपुरका १९ वर्षीय महमुद मियाँलाई पाँच वर्ष कैदको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिनुभयो । सोही आरोपमा मुछिएका १३ वर्षका दुई बालकलाई भने अदालतले सफाइ दिएको छ ।
बाख्रा चराउन गएकी बालिकालाई नजीकैको नहरमा नुहाउन लगेर सामूहिक रुपमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीद्वारा घटना भएकै दिन ०७३ साल भदौ १५ गते पक्राउ परे पनि अदालतले नाबालक भन्दै भोलिपल्टै तीनै जनालाई छाड्ने आदेश दिएको थियो । आरोपित महमुदको उमेर १९ वर्षको प्रमाणित भएपछि प्रहरीले पुनः एक सातापछि पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपित महमुद १५ हजार धरौटीमा ०७३ साल असोज १२ गते रिहा भएका थिए । जिल्ला अदालतले आइतबार बलात्कार नभई बलात्कार प्रयास भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित फरार भएका छन् ।