नगरपालिकाले चाल्याे कडा कदमः सडक आसपासका घरहरु भत्किंदै, नभत्काए ५ लाख जरिवाना

Halesi
0 Shares

हलेसी खबर संवाददाता/ खोटाङ, १ माघ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरित बनेका सडक आसपासको घर भत्काउने भएको छ । मध्यपहाडि लोकमार्ग आसपास मापदण्ड विपरित बनाईएका घरहरु भत्काउने कडा कदम नगरले लिएको हो । नुनथला, दिक्तेल, नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा (मध्यपहाडि लोकमार्गले छुने) सडक आसपास बनेका नयाँ घरहरु भत्काउने यसअघिनै निर्णय भईसकेकोे नगरप्रमुख दिपनारायण रिजालले बताए ।

नगरपालिकाले नगरका इन्जिनियर केशव गिरीको नेतृत्वमा टोलि बनाएर मापदण्ड विपरित बनेका घरहरुको लगत संकलन गर्ने कार्य समेत भईरहेको छ । मध्यपहाडि लोकमार्गमा सडकको बीचभागदेखि ३१÷३१ मिटर आसपास घर बनाउन नपाईने सडक क्षेत्राधिकार नीतिमा उल्लेख छ । सडक आसपास मापदण्ड पुरा नगरी बनेका घर भत्काउन, नयाँ नबनाउनका लागि नगरपालिकाले यसअघि नै सूचना जारी गरिसकेको छ । मापदण्ड विपरित बनाईएका, नक्शा पास नगरी बनाईएका, नयाँ निर्माण गर्न लागिएका घरहरु नगरपालिकाले भत्काउन लागेको हो ।

नगरप्रमुख रिजालले भने –‘नगरपालिकाले पहिलानै सूचित गराईसकेको छ, दिक्तेल रत्नपार्कस्थित राजकुमार कटुवाल र कृष्णबहादुर खत्रीको घर तत्कालै भत्काउने निर्णयमा पुगेका छौं ।’ उनले थपे –‘एक त यसरी निर्माण गरिएका घर भत्किन्छ नै, तर आफैले नभत्काएको खण्डमा ५ लाख जरिवाना तथा नगर आफैले घर भत्काउनु परेमा भत्काउँदा लागेको खर्च स्वयम घरधनिले व्यहोर्नुपर्ने हुन्छ ।’ नगरपालिकाले लिएको यस कडा कदमले मध्यपहाडि लोकमार्गआसपासका दर्जनौ घर भत्किनेछन् ।

तपाईको प्रतिक्रिया