हलेसी खबर संवाददाता/
खोटाङ, ३ माघ–एक नम्बर प्रदेशका सांसद तथा संविधानसभाका पूर्व सभाषद् उषाकला राईले मृतक आफ्नो आमाको अन्तिम संस्कार गृहजिल्ला खोटाङमा आज बिहीबार गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खाल्लेमा जन्मनुभएकी उहाँलाई गत पुस २५ गते मातृशोक परेको थियो । आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा निधन भएको थियो । आमाको निधनपछि उहाँ आफै कपाल मुण्डन पारेर किरियापुत्री बसिरहनुभएको छ ।
समाजमा किरियापुत्री पुरुष मात्र बस्ने चलन तोड्दै राई आफै आमाको किरियापुत्री बस्नुभएको हो । राईले किराँत संस्कार अनुसार आज समाधीस्थल निर्माणसँगै आमाको अन्तिम अस्तु विसर्जन गर्नुभएको हो । आमाको अस्तुको विसर्जनको क्रममा उहाँले गहभरी आँशुपार्दै भन्नुभयो –‘आमा तपाईलाई हाम्रो ठाउँमा ल्याएर आएँ, हामीलाई आशिर्वाद दिनुहोस्, भगवान साक्षि राखेर भन्दैछु, तपाईको जीवन सफल भयो, चीरशान्तिको कामना गर्दछु ।’ सांसद राईले यो कुरा भनिरहँदा उपस्थित समाजका व्यक्तित्व, आफन्तहरु कसैले पनि मन थाम्न सकेनन् सबैको आँखाभरी आँशु आयो, बलिन्द्रधारा बगाईरहे ।
आमाको लागि श्रीमती किरियापुत्री बसेपछि श्रीमान तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले श्रीमतीको कदममा साथ र समर्थन देखाउनुभयो । उहाँले यसअघिनै फेसबुकमा लेख्नुभएको थियो –‘उषाजी तपाईं साच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानूनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’ आमाको अन्तिम अस्तु विसर्जन गर्ने कार्यमा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको पनि उपस्थिती थियो ।
सांसद उषाकलाले आफ्नो फेसबुक वालमा आमालाई बचाउन नसकेकोमा दुःख पोख्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “जीवन घाम छाया रहेछ । कतिखेर सिदिन्छ थाहा हुदैन रहेछ । आमाले हामीलाई यति चाँडो छाड्नु होला लागेको थिएन । धेरै प्रयासको बाबजुद पनि आमालाई मैले बचाउन सकिन । आमा ! मलाई माफ गरिदिनुस !
हजुरको नाममा मैले कति प्रार्थना गरे आमा !
हजुरको स्वर्गको बास होस !
हजुरको आत्माले शान्ति पाओस !
Im so ..sorry Mamu ples !
सांसद राईको आमाको अन्तिम अस्तु विसर्जन गर्ने कार्यमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राई, पूर्वसांसद पिके राई, नेकपाका नेता रामप्रसाद दंगाल लगायत दिक्तेलबजारबासी व्यवसायी, शुभचिन्तक, आफन्तहरुको उपस्थिती थियो ।
त्यस्तै, मृतक आमाको सम्झनामा माघ ४,५ र ६ गते किरात र वैद्धिक संस्कार अनुसार कामको निरन्तर र पूजापाठ गर्ने, माघ ७ गते १३औं पुण्यतीथि संस्कार र परिवारजनसहित श्रद्धाञ्जली कार्यक्रम, स्वर्गीय आमा लक्ष्मी राईको सम्झना स्वरुप गरीव तथा असाहय बालबालिकाको शिक्षाको लागि १० लाख रुपैयाको अक्षयकोषको स्थापना गर्ने र माघ १५ गते वैद्धिक परम्परा अनुसार काठमाडौमा पूजा गर्ने र फागुन १० गते ४५औं पुण्यतीथि आमाप्रति श्रद्धाञ्जलीसभा काठमाडौमा गर्ने सांसद राईले बताउनुभएको छ । सांसद राईको आमाको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।