मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाली सेनाको शेरगण विजयी

Halesi
0 Shares

खोटाङ, ७ माघ ः नेपाली सेनाको शेरगण मुडे ब्यारेक र जिल्ला खेलकुद विकास समिति खोटाङबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शेरगण विजयी भएको छ । दिक्तेलस्थित मुडे ब्यारेकमा सोमबार आयोजना गरिएको मैत्रीपूर्ण प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिलाई २६–२४, २५–२१, २१–२५ र २५–१८ ले पछि पार्दै शेरगण विजयी भएको हो ।

नेपाली सेनाको भिजन २०३० अन्तरगत सेनाको साँगठानिक संस्था र व्यवस्थापनलाई सन्तुलित र प्रभावकारी बनाउने उद्देश्य अनुरुप जिल्ला खेलकुद विकास समिति र नेपाली सेनाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको गणपति डम्बरबहादुर आलेमगरले बताउनुभयो । “खेलकुदको माध्यमबाट युवा पुस्तालाई आधुनिकीकरण गर्न प्रधानसेनापतिको मार्गनिर्देशन तथा पृतनापतिको प्रतिवद्धता भएको छ ।” उहाँले भन्नुभयो, “पृतनापतिको प्रतिवद्धता २०७५ को लक्ष्य अनुसार आगामी फागुनमा बास्केटबल र २०७६ साल वैशाखमा फुटबल प्रतियोगिता गर्ने तयारी गरेका छौं ।”

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले शेरगणले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाली सेना र स्थानीयवासीबीचको आपसी सत्भावलाई अझ प्रगाढ बनाएको प्रतिक्रिया दिएका छन् ।
प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका तर्फबाट आगामी फागुनमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट छनौट गरिएका खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा सहभागी जिल्ला खेलकुद विकास समितिका खेलाडीलाई शेरगण मुडे ब्यारेकले दुई वटा भलिबल उपहार दिएको छ ।

तपाईको प्रतिक्रिया